कुटपिट गर्दै दाङमा मानिसहरुलाई क्रिश्चियन बनाइदै, लाचार छ स्थानीय सरकार र प्रशासन

दाङ देउखुरीमा ‘प्रभुको राज्य'को जात्रा

दाङ । लमही बजारको छेउमा चारतले ठूलो घर छ । डेढ महिनाअघि यसै घरमा ठूलो बोर्ड झुण्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य’ । बोर्डमा लेखिएको थियो ‘यहोवा (परमेश्वर)’को राज्य । बाइबल अध्ययनकर्ताका अनुसार ‘यहोवा’ भनेको परमेश्वर हो ।

यहोवा राज्यको अर्थ त्यो समुदाय, वस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाइबलले उल्लेख गरेको छ । यो राज्यमा ईसाई धर्मावलम्बीको मात्रै हालीमुहाली चल्ने र अन्य धर्म सम्प्रदायका नागरिकलाई त्यहाँ प्रवेश निषेध गर्नु भन्ने पनि बाइबलमा उल्लेख छ ।

छिमेकीले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे । यो विरोधपछि अहिले बोर्ड हटाइएको छ । तर, शासन रोकिएको छैन । अग्लो घरभित्र पस्दा घर पूरै सुनसान थियो । ढोकामा बडेमानको ताल्चा मारिएको थियो ।

प्रभु राज्यका शासक कहाँ बस्दारहेछन् त ? यो घरदेखि झण्डै पाँच सय मिटर पूर्वमा रहेको अर्को बडेमानको घर शासकहरूको निवास छ । रातो रंगको तीन तल्ले घरमा पुग्दा एक विदेशी युवक (प्रभु राज्यका शासकमध्येका एक) मूलढोका बाहिरै निस्किए ।

आफूलाई जापानी नागरिक भनेर परिचय दिएका उनी नेपाली भाषा अस्पष्ट बोल्दा रहेछन् । पत्रकारको परिचय थाहा पाउनसाथ गोरो बर्णका उनको अनुहारमा एकाएक कालो पोतियो ।

आफू निकै ब्यस्त रहेको भन्दै उनी गेटभित्र छिर्न हतारो गर्दै थिए । ‘म एकदम हतारमा छु, काममा निकै ब्यस्त छु,’ उनी भन्दै थिए, ‘तपाईँहरूलाई समय दिन सक्ने अवस्था छैन ।’

क्रिश्चियन धर्मबारे सोध्नासाथ उनको जवाफ थियो, ‘म नेपाली संस्कृति मन पराउने भएकाले यहाँ बस्न थालेको हुँ, म यहीँ बसेर संगीत सिकिरहेको छु ।’ यो छोटो कुराकानीका क्रममा उनले आफ्नो परिचय दिनै मानेनन् । उनले भने, ‘नचिनेको मान्छेलाई परिचय दिने जापनीज संस्कारमा हुन्न, म मेरो संस्कारविरुद्ध जान्न ।’ उनी यति भन्दै घरभित्र छिरे ।

संगीत अभ्यासका लागि जापानबाट लमहीमा आएको बताएका ती युवकको दिनहुँ एकएक चर्तिकला नजिकैको पसल मालिकले देखिरहन्छन् । को हुन् उनी ? पसल सञ्चालिकाले भनिन्, ‘क्रिश्चियन धर्मको प्रचारमा आएका हुन् रे, दिनहुँ आफ्नो धर्मको पर्चा बाँडेर गाउँगाउँ हिँड्छन् ।’ यो घर विगत २ वर्षदेखि प्रभुका शासकहरूको आश्रय स्थल बनेको रहेछ । बेलाबेलामा यो घरमा विदेशी नागरिकहरू फेरिइरहन्छन् ।

‘कहिले को कहिले को, नयाँ नयाँ अनुहारका विदेशीहरू आइरहन्छन्,’ ती सञ्चालिकाले भनिन्, ‘कोही कोरियाका हौँ भन्छन्, कसैले जापनीज भन्छन् ।’ प्रभुको राज्य र प्रभुका विदेशी शासकहरूको बडेमानको थलो पहिल्याएपछि प्रभुको शासनबारे खोजतलासको पछि लागियो । बग्रेल्ती अमानवीय घटनाहरूले यो पुष्टि ग¥यो कि ‘प्रभुको शासन’ देउखुरीमा बलजफ्ती ढंगबाट चलिरहेको रहेछ ।’

पहिलो उदाहरण भेटिइन् लमही नगरपालिका ५ कि गंगा खड्का । प्रभुको शासनले निम्त्याएका दुई ठूला घटनाले उनलाई अहिले पनि विक्षिप्त बनाइरहन्छ । केही समयअघि बिहानै घरको पेटी लिपपोत गरेर बसेकी थिइन् । एक महिला घरको त्यही पेटी नजिकै आइपुगिन् । उनले त्यही लिपेको पेटीमै पिसाब गरिदिइन् । पेटीमा पिसाब गरिदिने ती महिला प्रभुकी अनुयायी रहिछन् । गंगाको घरमा गरिएको त्यो हर्कतको मूल कारण रहेछ उनी हिन्दु हुनु ।

‘किन घरमा पिसाब फेरिदिएको भनेर गाली गरेँ,’ उनले भनिन्, ‘ती महिलासँगै आएका अर्का विदेशीले तिम्रो घर अब शुद्ध भयो भने ।’ गंगा हिन्दू भएका कारण उनको घरमा सैतानको बास रहेको र प्रभुका अनुयायीले पिसाब गरिदिएर घर पवित्र बनाइदिएको ती विदेशीले सम्झाउन खोजे । तर गंगाको रिस थामिएन् । अन्ततः नजिकै रहको चर्चका पास्टर आएर त्यो विवादलाई साम्य पारिदिए ।

उनको अर्को घटना प्रभुले नै बुढेसकालमा अहिले बेसहारा बनाइदिए । तीन छोरामध्ये कान्छा छोरा सुनिलसँग उनी बस्दै आएकी थिइन् । विवाहित छोरा होटल गर्न भन्दै दाङ कपिलवस्तुको सीमा क्षेत्र धानखोला पुगे । यसैक्रममा सुनिलकी श्रीमती क्रिश्चियन धर्ममा लागिन् । अब सुनिललाई पनि धर्म परिवर्तनको दबाब आइप¥यो ।

‘बाबु मरेको बेला काँधमा राखेर अन्तयष्टि गर्ने मै हुँ,’ धर्म परिवर्तनको प्रस्ताव अस्विकार गरेको छोराको भनाइ उदृत गर्दै गंगाले भनिन्, ‘म कुनै पनि हालतमा क्रिश्चियन बन्दिन भनेर अडान लिइरहेको थियो । गत फागुनमा एकाएक सुनिल घाइते भएको खबर आमा गंगालाई आइपुग्यो । रक्ताम्य अवस्थामा उनलाई
लमहीस्थित अस्पताल ल्याइएको रहेछ । टाउकोमा धेरै ठाउँ काटिएको थियो । शरीरमा पनि उस्तै चोट थियो,’ उनले सम्झिइन् ।

हतारहतार आमाले छोरालाई एम्बुलेन्समा राखेर नेपालगन्ज पु¥याइन् । सुनिलले ब्यहोर्नुपरेको यो यातना प्रभुबाटै पाएका रहेछन् । ‘क्रिश्चियन नबनेको भनेर बुहारीले मरणासन्न हुनेगरी हानेकी रैछे,’ उनले भनिन्, ‘धन्न नेपालगञ्जमा उपचार गरेर छोरा बाँच्यो ।’

प्रहरीले घटनामा संलग्न रहेको भन्दै सुनिलकी श्रीमतीलाई नियन्त्रणमा लियो । गंगा आफैले छुटाइन् । सानी नातिनी छे, आमालाई प्रहरीले थुनेपछि धेरै रुन थालि,’ गंगाले भनिन्, ‘अनि आफैँ गएर छुटाइदिएँ ।’

सुनिलले यो ज्यादती थेग्न सकेनन् । अन्ततः उनी अहिले प्रभुकै अनुयायी बनेका छन् । प्रभुको जबरजस्त शासनले छोरा सुनिल धर्म परिवर्तको बाध्यतामा परे । यता आमा गंगासँगको सम्बन्ध टुट्यो । ‘अस्ति घरमा आएको थियो, म बाँच्दासम्म मेरो छेउमा अनुहार नदेखाएस भनेर पठाएकी छु,’ उनले भनिन्, ‘अहिले न आउजाउ छ, न बोलीचाली नै ।

लमहीकोे कोलाही गाउँका मनोज चौधरी पनि प्रभुको शासनमा नराम्ररी फसे । अन्यायमा पारिएको भन्दै उजुरबाजुरमा पनि उनी उत्रिए । तर प्रभुको राज्यविरुद्ध सरकार उभिनै सकेन । मनोजलाई मोटरसाइकलमा आएका दुईजनाले घर बाहिर बोलाए । उनी गए । मोटरसाइकलमा हालेर उनलाई हुँइक्याइयो । अनि जबरजस्ती क्रिश्चियन बन्न लगाइयो ।

‘तातो पानी टाउकोमा खन्याइदिएछन्, अनि रगतजस्तो रातो चिज पनि खुवाएछन्,’ एक स्थानीयले भने, ‘रगत खुवाएपछि मनोजले बान्ता गर्न थालेछ, अनि बेहोसै भएछ ।’

मनोजले आफूमाथि आइपरेको अन्यायको बारेमा कुरा खोले । गाउँलेहरु न्याय खोज्नका लागि स्थानीय सरकारसमक्ष पुगे । लमही नगरपालिकामा परेको उजुरीलाई नगरपालिकाले भन्यो, ‘यो धर्मसँग जोडिएको बिषय भएकाले यो घटनालाई प्रहरीमा पु¥याउनुस् ।’

पीडितले प्रहरीमै पुगेर उजुरी हाले । तर अहिलेसम्म यो घटनाबारे प्रहरीले कुनै अनुसन्धान थालेको छैन । ‘जबरजस्ती धर्म परिवर्तन गराउने यो अमानवीय व्यवहारविरुद्ध हामीहरू प्रहरीसम्म पुग्यौँ,’ ती गाउँलेले भने, ‘तर प्रहरीले अहिलेसम्म यो उजुरीबारे कुनै कारबाही भएको छैन ।’

अनुयायी बढाउनका लागि प्रभुले सामुदायिक विद्यालयलाई उत्तिकै तारो बनाएका रहेछन् । विद्यार्थीको हातहातमा बाइबल तथा प्रभुका प्रचार सामाग्री थमाइरहेका उनका अनुयायीहरु चाहन्छन् ‘साना बालबालिकाबाटै आफ्नो शासनलाई अझै चुस्त बनाउन सकिन्छ ।’

विद्यार्थीलाई उनीहरूले गरेका प्रयोगको अवस्था पत्ता लगाउन लमहीको कोलही गाउँमा रहेको मावि कोलहीमा पुग्दा अर्को नयाँ घटना थाहा भयो ।

प्रभुको शासन त विद्यालयमै पनि हावी भइसकेको रहेछ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद खनाल भन्छन्, ‘हामीलाई त सामाजिक बिषय पढाउनै मुश्किल पर्न थालिसक्यो ।’ सामाजिक बिषयको अध्यापन गर्ने प्रधानाध्यापक खनाललाई धर्मबारे अध्यापन गर्दा ‘ईसाई धर्म’ नै सबथोक भनेर पढाउनुपर्ने बाध्यता बिद्यार्थीबाट आइलाग्दो रहेछ ।

उनले गतवर्ष अध्यापनका क्रममा एक ईसाई धर्मावलम्बी छात्रासँगको विवादबारे सुनाए । उनले सबै धर्म संस्कृति बराबर रहने भन्दै पढाउन खोज्दै थिए । तर बीचमै एक छात्रा उठेर ईसाई धर्म सबैभन्दा माथि रहेको भन्दै यसलाई अन्य धर्मसँग बराबर भनेर परिभाषित गर्न नमिल्ने भन्दै कड्किइन् ।

‘हामी शिक्षकहरूले कुनै एक धर्मलाई ठूलो वा सानो भनेर पढाउन मिल्ने कुरै भएन,’ प्रधानाध्यापक खनालले भने, ‘तर त्यो बिद्यार्थीले ईसाईलाई किन ठूलो भनेनस् भनेर मसँग बाझ्यो ।’ १० कक्षासम्म रहेको यो बिद्यालयमा दर्जन बढी विद्यार्थीहरु ईसाई धर्मका छन् ।

सरकारले धर्म परिवर्तन गराउनेहरूलाई देश निकाला गर्ने बताइरहेपनि देउखुरी क्षेत्रमा भने खुलेआम धर्म परिवर्तनको खेल भइरहेको छ । मूलतः यहाँ विदेशी नागरिकहरू यो अभियानमा सक्रिय देखिएका छन् । जापान, कोरिया तथा अमेरिकाका नागरिक बताउने यी विदेशी नागरिकहरू लमहीका तीन वटा घरमा भाडामा बस्ने गरेका छन् ।

उनीहरू गाउँगाउँमा पुगेरै धर्म परिवर्तनका लागि लबिङ गरिरहेका छन् । उनीहरुले खुलेआम झोला बोकेर बाइबल तथा प्रभुको प्रचार सामाग्री बोकेर घरघरमा पुग्ने गरेको स्थानीय बताउँछन् । ‘घरका सटर सटर ठोेक्न पुग्छन्,’ मावि कोलही गाउँका शिक्षक बिष्णु प्रसाद भण्डारी भन्छन्, ‘उनीहरूलाई धर्म प्रचारका लागि कतैबाट पनि रोकटोक छैन, दिनहुँ खुलेआम घरघरमा पुगेर धर्मको प्रचार गरिरहेका छन् ।’

विकासे क्रियाकलापसँगै स्थानीयलाई संगीत तथा भिडियोमार्फत मनोरञ्जन दिलाएर समेत ईसाई धर्ममा आकर्षित गर्ने काम भैरहेको स्थानीयहरु बताउँछन् । लमही सुनखोलीकी सपना विश्वकर्माले आफ्नो गाउँमा दुईपटक रात्रिकालीन साँस्कृतिक कार्यक्रम भइसकेको बताइन् ।

‘भिडियो देखाउने, सांगीतिक कार्यक्रम गरेर पनि उनीहरुले स्थानीय आकर्षित गर्ने काम गरिरहेका छन्,’ सपना भन्छिन्, ‘हाम्रै गाउँमा मात्रै दुईपटक यस्ता कार्यक्रम भइसके ।’

(यो रिपोर्ट देवेन्द्र बस्नेतले नागरिक दैनिकका लागि तयार पारेका हुन । समयसान्दर्भिक लागेर साभार गरिएको हो ।)

कमेन्ट गर्नुहोस्