ब्लडमनि नभएर साउदी जेलमा छट्पटाइरहेका घर्ती र रानालाई उद्वार गरी ल्याउँछु : दिपेश पुन

काठमाडौं, वैशाख २६ । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले ब्लडमनीको अभावमा साउदीको जेलमा रहेका गोरखाका कुमार पुन र रोल्पा निवासी दिलबहादुर घर्तीलाई केही समयमा नै नेपाल ल्याई छाड्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा दिलबहादुर घर्ती र कुमार राना बचाउ अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा पुनले उनीहरुलाई सकुशल नेपाल ल्याउने प्रतिबद्धता समेत जनाए । पुनले पीडित परिवारलाई उनीहरुलाई साउदी जेलबाट केही समयमै नेपाल झिकाउने वचन समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै उनले नेपाली समाजभित्रको फरक समाजका रुपमा रहेको लोपोन्मुख राउटे समुदायका बिरामी यूवाहरुको उपचार गर्न त सफल भएको दाबी गर्दै कुमार राना र दिल बहादुरको जीवन सकुसल नेपाल ल्याउने बताए ।

उनले भने, ‘कुमार राना र दिलबहादुर दाईको परिवारले ढुक्क हुनुस्, म उहाँहरुको उद्धारमा लागि सकेको छु, केही समय पर्खिनुस् हाम्रो अभियानले सार्थकता पाउने छर यसै रिपोर्टर्स क्लबमा तपाईका श्रीमान तपाईलाई हस्तान्तरण गर्नेछौं, तपाईको ओठको हाँसो फर्काउनेछौं ।’

कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष नविन घर्तीमगरले आवश्यकतामा रगत दिने नेपालीहरुले विदेशका जेलमा जीवन बिताईहरको आफ्न्तलाई स्वदेश फिर्ता गर्ने कुरामा साथ र सहयोग हुनेमा आफू ढुक्क रहेको बताए ।

उनले भने,‘दीपेशजीजस्तो समाजसेवी यूवा यस अभियानमा जुटेका छन्, मैलेपनि मगर संघ, जनजाती संगठनहरुलाई कुमार राना र दिल बहादुर घर्तीको उद्धारको लागि सहयोगमा जुट्न निर्देशन दिईसकेको छु ।’ गत असोज १० गतेदेखि साउदीको जेलमा रहेका कुमार रानाकी श्रीमती अम्बिका रानाले आफ्नो श्रीमान्लाई बचाउनको लागि आग्रह गरेकी छन् ।

उनले भनिन्, ‘मेरो श्रीमान २०७२ सालमा विदेश जानुभएको हो, उहाँले चलाउने ट्रक रोकेर राखेको स्थितिमा साउदी नागरिकले चलाएको कार ठोक्कियो र घाईते बन्नुभएको साउदी नागरिकको कम्पनीले नै उपचार गर्यो, त्यसपछि पनि त्यो नागरिकले अदालतमा मुद्दा हालेर मेरो श्रीमान्लाई ब्लड मनी तिर्ने स्थीतिमा पारेको छ।’

त्यस्तै दिलबहादुर घर्तीकी श्रीमती मोनिका बुढाले साउदीको चिसो छिँडीमा रहेका श्रीमानको उद्धारमा साथ दिन सबैसँग आग्रह गरेकी छन् । कार्यक्रममा उनले भनिन्, ‘मेरो श्रीमान २ वर्षदेखि जेलमा हुनुहुन्छ, पछाडीबाट आएको गाडीले ठक्कर दिएर दुर्घटना भएको थियो, त्यसपछि उहाँलाई साउदी भाषाको सम्झौता पत्रमा हस्ताक्षर गराएको र फसाएको हो, पैसाको खाँचो छ, म गरिब छु, बालबच्चा साना छन् ।’

रानाको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेहरुले प्रभु बैंक कलंकी शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३९ ०१००१००६५६९०००००१ मा पनि रकम जम्मा गर्न र दिल बहादुर घर्तीको लागि सहयोग गर्नेले नेपाल राष्ट्रिय बाणिज्य बैंक बालाजु शाखामा रहेको ११९००२८६०७१० मा सहयोग गर्न सकिने अभियानका सचिव जीवन रोका मगरले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्