आइपिएल : सन्दिप लामीछाने अावद्ध दिल्लीको खराब हार, पन्तको १५ चौका र ७ छक्काले जोगाउन सकेन

काठमाडौं, वैशाख २८ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहीबार बेलुका भएको खेलमा अंक तालिकाको पुछारमा रहेको दिल्ली डियरडेभिल्सले खराब हार बेहोरेको छ ।

घरेलु मैदानमा भएको खेलमा दिल्ली सनराइर्जस हैदराबादसँग ९ विकेटले पराजित भएको हो ।

फिरोज शाह कोटला मैदानमा भएको खेलमा दिल्लीले प्रस्तुत गरेको १८८ रनको लक्ष्य हैदराबादले १८ ओभर ५ बलमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि शिखर धवनले ५० बलमा नटआउट ९२ रन बनाए ।

उनले यस क्रममा ९ चौका र चार छक्का प्रहार गरे । यस्तै कप्तान केन विलियम्सनले ५३ बलमा नटआउट ८३ रन बनाए । उनले ८ चौका र दुई छक्का प्रहार गरे । यस्तै एडी हेल्सले १० बलमा १४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीले ऋशव पन्तको नटआउट १२८ रनको सहयोगमा पाँच विकेटको क्षतिमा १८७ रन बनायो । पन्तले ६३ बलमा १५ चौका र सात छक्काको सहयोगमा शतकीय पारी खेले पनि टिमलाई जिताउन भने सकेनन् ।

दिल्लीका हर्शल पटेलले १७ बलमा २४ तथा जेजे रोयले १३ बलमा ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । पराजित भएको दिल्ली ११ खेलबाट ६ अंकसहित पुछारमा छ भने शीर्ष स्थानको हैदराबादको ११ खेलबाट १८ अंक भएको छ ।

कमेन्ट गर्नुहोस्