भारतीय सांसद आजादलाई दुश्मन घोषणा गराैँ – बिमलेन्द्र निधि

काठमाडौं, वैशाख २९  । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले भारतीय सांसद कीर्ति आजादको विवादित बयानको विरोध गर्नुभएको छ ।

जनकपुरलाई भारतमा मिसाउनुपर्छ भन्ने दरभंगाबाट निर्वाचित लोकसभा सदस्य कीर्ति आजादको भनाईको उपसभापति निधिले ट्वीटमार्फत विरोध गर्नुभएको हो ।

निधिले कीर्ति आजादजस्तो जिम्मेवार व्यक्तिको यस्तो गैरजिम्मेवार टिप्पणी आउनु दुवै देशको अखण्डताका लागि खतरापूर्ण भएको भन्दै उनलाई कारवाही गर्न माग गर्नु भएको छ ।

BimalendraNidhi

जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने किर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर,२नं प्रदेश,मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं।त्यो सोच दुवै देशको अखण्डताकोलागि खतरा हो। मोदी र ओली दुवै सरकारले तुरन्त आवश्यक कार्यबाही गरेर सार्वजनिक गरोस्।नत्र हामी बर्दास्त गर्दैनौ।

के भनेका थिए अाजादले ?

भारतीय लोकसभाका सदस्य कीर्ति आजादले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला राज्य गठन गर्न आग्रह गरेका थिए ।

उनले ट्विटरमा मोदीलाई मेन्सन गर्दै मिथिलाको राजधानी जनकपुरधाममा स्वागत गर्दै जनकपुरलाई समेटेर मिथिला राज्य गर्न माग गरेका थिए । उनी लेख्छन्, ‘आदरणीय नरेन्द्र मोदीजी तपाईँलाई मिथिलाको राजधानी जनकपुरधाममा स्वागत छ । दुई सय वर्ष पहिले अंग्रेज तथा नेपालबीच भएको सन्धि अनुसार मिथिला क्षेत्र नेपाललाई दिइएको थियो । त्यो सन्धि समाप्त भएको छ । अनुरोध छ कि माता सीताको आदर गर्दै यसलाई फिर्ता लिँदै मिथिला राज्यको गठन गर्नुहोस् ।’

कीर्ति आजाद दरभंगाबाट निर्वाचित लोकसभा सदस्य हुन् । उनी सन् २०१४ मा भएको लोकसभामा भारतीय जनता पार्टीबाटै निर्वाचित भएका थिए । तर सन् २०१५ डिसेम्बर २३ मा केन्द्रीय अर्थमन्त्री अरुण जेटलीविरुद्ध दिल्ली एण्ड् दिल्ली डिस्ट्रिक्ट क्रिकेट एसोसियसनमा भ्रष्टाचार गरेको आरोप लगाएपछि उनलाई पार्टीबाट निष्काशित गरिएको थियो ।

उनी पहिले दिल्लीको गोलमार्केट क्षेत्रबाट विधानसभा सदस्य रहेका थिए । उनी भारतीय क्रिकेट टिमका पूर्व सदस्य पनि हुन् । उनले सन् १९८० देखि १९८६ सम्म भारतबाट ७ टेष्ट खेल र २५ एकदिवसीय खेल खेलेका छन् ।

कीर्ति आजाद बिहारका  पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरासमेत हुन् ।  उनको यो विवादित ट्वीटपछि धेरै नेपाली ट्विटर प्रयोगकर्ताले सुगौली सन्धिमा नेपालले गुमाएका अन्य भूभागसमेत फिर्ता गर्न चुनौति दिएका छन् ।

कमेन्ट गर्नुहोस्