दिल्लीका गल्ली–गल्लीमा मोदीको पोस्टर, यसकारण भनियो उनलाई ‘द लाई लामा’

नयाँ दिल्ली, वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला नेपाल भ्रमणमा छन् तर उनकै देशको राजधानी नयाँ दिल्लीमा उनलाई ‘द लाई लामा’ भन्दै गल्ली गल्लीमा पोस्टर टाँसिएको छ ।

निर्वासित तिब्बती धार्मिक नेता दलाई लामासँग मिल्दोजुल्दो गरी मोदीको पोस्टरमा ‘द लाई लामा’ नाम राखिए पनि निर्वासित तिब्बती नेता लामासँग मोदीको तस्वीरसहितको पोस्टरको सम्बन्ध छैन । मोदीलाई ‘द लाई लामा’ भनेर पोस्टरमा लेखिनुको अर्थ बेग्लै छ ।

मोदीले बारम्बार झुट बोल्दै आएको भन्दै विरोधीहरुले उनलाई ‘झुठ बोल्ने नेता’ भन्दै आएका छन् । सोही अर्थमा उनलाई अंग्रेजी भाषामा नामाकरण गरी ‘द लाई’ भनिएको हो ।

प्रहरीले नयाँ दिल्लीका विभिन्न गल्लीबाट त्यस्ता पोस्टर निकालेको छ । पोस्टर कसले टाँसेको हो भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ ।

पोस्टर कहाँ प्रकाशन भएको हो भन्ने पनि प्रष्ट भइसकेको छैन । प्रहरीले अज्ञात व्यक्तिहरुको नाममा उजुरी दायर गरी आवश्यक अनुसन्धान तथा कारवाही सुरु गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्