रक्सी बन्द हुने खबरले मच्चियो हलचल, दर्जनौं बोतल किनेर थन्क्याउन थाले लत लागेकाहरु

काठमाडौं, गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले देशैभरी मदिरा नियन्त्रण गर्ने समाचार सार्वजनिक भएपछि रक्सीको लत लागेकाहरुबीच हलचल मच्चिएको छ ।

रक्सीको लत लागेका या मदिराको प्रयोगलाई जीवनशैलीको अंग बनाएकाहरुको बृत्तमा यो समाचारले तनाव निम्त्याएको हो । कतिपयले खुलेरै फेसबुकलगायतका सामाजिक सञ्जालमा रक्सी बन्द नगर्न आग्रह गरेका छन् । केहीले भने पार्टीलगायतका कार्यक्रममा रक्सी उपभोग गर्न दिनुपर्ने समेत बताएका छन् ।

तर सबैभन्दा समस्या चाहिँ मदिराको लत नै लागेकाहरुलाई परेको छ । कतिपयले हरेक साँझ रक्सी सेवन नगरी सुत्न नै नसक्ने भएको अवस्थामा रक्सी नपाउँदा के गर्ने भन्ने चिन्ता लिएको बताए ।

“अहिले बोतल किन्नेहरुको संख्या बढेको छ ।” चाबाहिल क्षेत्रमा मदिरा पसल चलाए बसेका एकजना व्यापारीले भने, “हाम्रो त उठिवास हुन्छ नै, पिउनेहरुको पो बिजोग हुने भयो ।”

यसरी रक्सी नभइ नहुनेहरुमध्ये कतिपयले चाहिँ दजर्नबढी बोतल किनेर समेत लगेको उनले बताए । यद्यपी केहीलाई भने यसरी किनेको रक्सी कहाँ लुकाउने भन्ने चिन्ता लाग्ने गरेको पनि उनको भनाई थियो ।

रक्सी बन्द हुने कुरा चलेपछि धेरैजसो व्यापारीहरुले समेत पछि अवैधरुपमा बेच्न रक्सी लुकाउन शुरु गरेको समेत उनले बताए । तर रक्सीको पुरै उद्योग नै बन्द नहुने र अनियन्त्रित बिक्री मात्रै बन्द हुने आशा समेत धेरैको छ ।

यातायात क्षेत्रको सिण्डिकेटलाई सफलतापूर्वक बन्द गर्न सफल भएपछि गृहमन्त्रीको घोषणा औपचारिकतामा सीमित नहुने आम मानिसमा छाप परेको छ । यसकारण पनि अब साँच्चिकै रक्सी बन्द हुन्छ भन्ने मान्छेहरुमा परेको छ ।

खासगरी शहरी क्षेत्रमा हुने खाने परिवार र व्यवसायिक प्रकृतिका काममा संलग्न मानिसहरुको जीवनशैलीमा रक्सी अनिवार्य बस्तु बनेको छ । रमाइलोदेखि सामाजिक क्रियाकलापमा समेत रक्सी एउटा पर्याय बनेको छ । जसले गर्दा दैनिक आवश्यकताका कुरामा भन्दा रक्सीमा अनावश्यक फिजूलखर्ची भइरहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्