माेदीकाे भ्रमणका क्रममा जनकपुरमा राष्ट्रिय र कूटनीतिक मर्यादा विपरित काम भयाे : प्रधानमन्त्री

काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला २ नं प्रदेशकाे जनकपुरमा  मुख्यमन्त्रीले नागिरक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कूटनीतिक मर्यादाको कसीमा नअटाउने गरी गलती भएकाे स्वीकार गरेका छन् ।

प्रधानमन्त्री ओलीले त्यो गतिविधि अनुपयुक्त रहेको बताए । तर देशको परराष्ट्र नीति केन्द्र सरकारको परराष्ट्र मन्त्रालयले हेर्ने र त्यहाँ व्यक्त भएको धारणा सरकारको आधिकारिक धारणा नरहेको बताए । परराष्ट्र नीतिबारे सरकारको धारणा स्पष्ट रहेको ओलीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका बारेमा संसदलाई जानकारी गराएका छन् ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधामन्त्री ओलीले मोदीको नेपालको राजकीय भ्रमणबारे सदनलाई जानकारी गराउदै भने, ‘अब छिट्टै काठमाठौै–रक्सौल रेलमार्गको डिपीआर तयार पार्ने काम हुन्छ । दुईवटा कार्यदलले छिट्टै रेलमार्गको सर्भे सम्बन्धी काम सम्पन्न गर्छन् ।रेलमार्गको सर्बे र निर्माणका लागि भारतले लगानी गर्ने छ ।’

प्रधानमन्त्री ओलीले डिपीआर तयार भएपछि तुरुन्तै सम्झौता गरेर काम अघि बढ्ने बताए । साथै जलमार्गका बारेमा छिट्टै डिपिआर तयार पार्नेबारेमा सहमति भएको पनि उनले सदनलाई जानकारी गराए ।

यस्तै नेपाल भारतबीचमा चरम ब्यापार असन्तुलन रहेको बताउदै उनले यसबारेमा आगामी तीन महिनाभित्र पुनरावलोकन गर्ने सहमति भएको पनि उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आफू छिट्टै चीन भ्रमणमा जाने बताए । तर, चीन भ्रमण कुन मितिमा हुने भन्ने प्रधानमन्त्रीले खुलाएका छैनन् ।

कमेन्ट गर्नुहोस्