विश्वकाे सबैभन्दा ठूलाे कम्पनी एप्पललाई अमेजन चुनाैति

आइफोन निर्माता कम्पनी एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो र यसको बजार मूल्य १ ट्रिलियन अर्थात् १० खर्ब डलर पुग्नै आँटेको छ ।

एप्पल, अमेरिकी इतिहासमै पहिलोपटक १० खर्ब डलर मूल्यको कम्पनी बन्ने क्रममा रहँदा एप्पललाई पछ्याउने केही कम्पनीले उसलाई छिटै नै पछि पार्ने सम्भावना पनि देखिएको छ । र, यो दौडमा तीव्ररुपमा अघि बढिरहेको अमेरिकाकै अर्को कम्पनी अमेजन डट कम सबैभन्दा अगाडि छ ।

स्टिभ जब्सले सन् १९७६ मा ग्यारेजबाट सुरु गरेको एप्पल कम्पनीले अहिले वार्षिकरुपमा २ खर्ब २९ अर्ब डलर आम्दानी गर्दछ । यो भने पोर्चुगल तथा न्युजिल्याण्ड जस्ता विकशित देशको कुल गाह्रस्थ उत्पादनभन्दा पनि बढि हो ।

गत बुधबार एप्पलको बजार मूल्य ९ खर्ब ३४ अर्ब पुग्यो । मंगलबार कम्पनीको त्रैमासिक प्रतिवेदन सार्वजनिक भएको र अमेरिकी धनाढ्य वारेन बफेटले एप्पलको गाह्रस्थ शेयरको खरीद बढाउने घोषणा गरेसँगै गत हप्ता एप्पलको शेयर मूल्य १२ प्रतिशतले बढ्यो । १० खर्ब डलरको बजार मूल्य भन्दा कम्पनीको शेयर मूल्य केवल ८ प्रतिशतले मात्र कम छ।

एप्पलको म्युजिक स्ट्रिमिंग तथा अनलाइन स्टोरेज लगायतका सर्भिस सेक्टरको आम्दानीमा ३१ प्रतिशतले बढोत्तरी भएको रिपोर्ट इंगित गर्दै विश्लेषकहरुले एप्पलको शेयर मूल्य १९५ डलरबाट २१० डलर पुग्ने प्रक्षेपण गरेका छन् । यदि त्यसो भएमा एप्पल कम्पनीको बजार मूल्य १० खर्ब ३ अर्ब डलर पुग्नेछ ।

तर निरन्तर रुपमा प्रगति गरिरहेको एप्पल १ ट्रिलियन मूल्य भएको पहिलो कम्पनी बन्ने निकै नजिक रहँदा उसको इतिहास रच्ने मौका अरु कसैले खोसिदिने सम्भावना पनि बढेको छ । हाल बजार मूल्य ७ खर्ब ८० अर्ब डलर रहेको अमेजन कम्पनीको वृद्धिदर यति तिव्र छ की उसले एप्पल भन्दा अगाडि नै १० खर्ब डलरको मूल्य छुने सम्भावना रहेको छ । यदि त्यसो भएन भनेपछि एप्पलले १० खर्ब डलरको सीमा पार गरेको केही समयमै अमेजनले पनि त्यो सफलता प्राप्त गर्नेछ र त्यसपछि छिटै नै एप्पललाई पछि पार्नेछ ।

उता साउदी अरेबियाको तेल उत्पादक कम्पनी साउदी अराम्कोले पहिलोपटक अन्तराष्ट्रिय बजारमा शेयर खुल्ला गर्दैछ । जसका कारण कम्पनीको बजार मूल्य २० खर्ब डलर पुग्ने दाबी सरकारी अधिकारीहरुको छ ।

शुक्रबारको बजार मूल्य अनुसार एप्पल भन्दा १ खर्ब ४८ अर्ब कम मूल्य रहेको अमेजनले पछिल्लो समय शेयर मूल्य तथा बिक्रिको दरलाई बढाएको छ । अमेजनको शेयरको बिक्रिदर निकै उच्च छ र अपेक्षित मुनाफाभन्दा १ सय गुणा उच्च मूल्यमा खरीद बिक्रि भैरहेको छ । जबकी एप्पलको यो दर १५ प्रतिशत मात्र छ ।

एप्पलको शेयर मूल्य गतवर्ष भन्दा २४ प्रतिशतले बढेको छ । कम्पनीको पछिल्लो स्मार्टफोन आइफोन एक्सप्रतिको अपेक्षाका कारण एप्पललको शेयर मूल्यमा भारी वृद्धि भएको हो । तर १ हजार डलरको यो स्मार्टफोनको बजार अपेक्षित रहेन । एप्पलको शेयर मूल्यमा हाल भैरहेको वृद्धि चाहीँ शेयरधनीहरुलाई बढि नगद प्रदान गर्ने कम्पनीको घोषित योजनाका कारण भएको बताइएको छ ।

उता पछिल्लो एक वर्षमा अमेजनको शेयर मूल्यमा ७० प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा अमेजनको आम्दानीमा ३१ प्रतिशतले वृद्धि भएको छ । अनलाइन मार्केटिङ र क्लाउड सर्भिस दुबैका उपभोक्ताहरु बढ्दै जाँदा अमेजनको व्यवसाय चम्किएको छ ।

अमेजनले म्युजिक तथा भिडियो सामाग्रीहरु, फायर टिभी डिभाइस तथा अलेक्सा स्मार्ट होम ग्याजेट समेत बेच्ने भएको हुँदा यसले हार्डवेयरको क्षेत्रमा एप्पल तथा गुगलको मातृ कम्पनी अल्फाबेटसँग झनै प्रतिस्पर्धा गरिरहनु परेको छ ।

वालस्ट्रिटको बजार मूल्य अनुसार तेश्रो धेरै बजार मूल्य भएको अमेरिकी कम्पनी अल्फाबेट हो, जसको बजार मूल्य ७ खर्ब ६५ अर्ब छ भने चौथो स्थानको माइक्रोसफ्टको ७ खर्ब ४९ अर्ब डलर छ ।

स्मरण रहोस् गत फेब्रुअरीमा मात्र अमेजनले यी दुबै कम्पनीलाई उछिनेको हो ।

पाँचौ स्थानमा रहेको फेसबुकलाई समेत जोड्ने हो भने अमेरिकी बजारका पाँच ठूला कम्पनीको जम्माजम्मी बजार मूल्य २४ खर्ब डलर पुगेको छ ।

अमेजन र एप्पलले यो वर्ष नै १० खबृ डलरको सीमा चुम्ने देखिएको भएतापनि माइक्रोसफ्ट सन् २०१९ अगाडि त्यस विन्दुमा पुग्न नसक्ने देखिएको छ । अल्फाबेटलाई चाहीँ १० खर्ब डलर बजार मूल्य पूराउनका लागि सन् २०२० सम्म कुर्नुपर्ने पछिल्ला रिपोर्टले देखाएका छन् । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्