३३ किलो सुनकाण्डको बहस काठमाडौंमा गर्न प्रतिवादीको माग

मोरङ, वैशाख ३१ । साढे ३३ किलो सुन तस्करीको बहस काठडमाडौंमा हुनु पर्ने प्रतिवादी वकिलहरुले माग गरेका छन् । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस मोरङमै भएपनि सुनकाण्डको बहस भने काठमाडौंमा हुनु पर्ने उनीहरुले आइतबार माग गरेका हुन् ।

हत्या मोरङमा भएकाले मोरङ अदालतलाई मुद्दा चलाउने अधिकार भएपनि सुनको विषयमा यहाँ बहस नगरि काठमाडौं सार्न अभियुक्तका पक्षमा बहस गर्ने वकिलले माग गरेका छन् ।

अधिवक्ताहरुले अभियुक्त बनाएर लगाइएको आरोप झुटो भएको समेत जिकिर गरेका छन्।

मोरङ जिल्ला अदालतस्थित इजलास ६ मा जारी बहसका क्रममा आइतबार अभियुक्तका तर्फबाट बहस गरिरहेका चारजना वकिलहरुले बचाउ गरेका हुन् ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा सुरु भएको प्रतिवादीको बहसका क्रममा शम्भु थापा, यदुनाथ खनाल, राजु बस्नेत र रमण श्रेष्ठले बहस गरेका थिए।

यस क्रममा वरिष्ठ अधिवक्ता राजु बस्नेतले यस प्रकरणका अभियुक्त एयरलाइन्सका कर्मचारीहरु बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, सम्विरप्रसाद तोलङ्गे, लालबहादुर मगर, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम र पुण्यप्रसाद लामाको प्रतिरक्षा गरेका थिए। त्यसैगरि अर्का वरिष्ठ अधिवक्ता यदुनाथ खनालले निलम्बित एसपी विकासराज खनालको पक्षमा बहस गरेका थिए।

पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठले सुन तस्करीका लगानीकर्ताका रुपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला र एसपी विकासराज खनालका पक्षमा बहस गरेका थिए।

त्यसैगरि शम्भु थापाको बहसपनि नेता गुरुङ र एसपी खनालको बचाउमै केन्द्रित रहेको थियो ।

कमेन्ट गर्नुहोस्