मुख्यमन्त्री राउतले बोलेको कुरा जायज, सत्य कुरा तीतो हुन्छ : अध्यक्ष यादव

चितवन, वैशाख ३१ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको कुरा जायज भएको बताएका छन् ।

सोमबार भरतपुरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै यादवले प्रदेश–२ का मुख्यमन्त्री राउतले मुलुक र प्रदेशको वस्तुस्थितिबारे यथार्थ बोलेको दावी गरे ।

‘मुख्यमन्त्रीले जे बोल्नुभयो, यथार्थ बोल्नुभयो, उहाँले नेपालको अवस्थालाई उजागर गर्ने प्रयत्न गर्नुभएको हो, सत्य कुरा तीतो भएकोमात्र हो’–उनले भने ।

अध्यक्ष यादवले मुलुक संघीयतामा गइसके पनि प्रदेश सरकारलाई भूमिकाविहीन बनाएर केन्द्र सरकारले गल्ती गरिरहेको आरोप लगाए ।

उनले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसकेर विदेशबाट सेना ल्याउनु राष्ट्रको सबैभन्दा ठूलो अपमान भएको बताए ।

नेपाली सेना र सुरक्षा फौजको मनोबल गिराउने काम वर्तमान सरकारले गरेको उनको भनाइ थियो ।

मोदीको जनकपुरमा गरिएको नागरिक अभिनन्दनमा मुख्उमन्त्री राउतले दिएको अभिव्यक्तिका बारेमा अहिले व्यापक चर्चा र आलोचना भइरहेका बेला फोरम अध्यक्ष यादलले उनको बचाउ गरेका हुन । राउत फोरमबाट प्रदेश २ मा मुख्यमन्त्री बनेका हुन ।

आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राष्ट्रिय मर्यादा र कूटनीतिक मर्यादा विपरित अभिव्यक्त टीप्पणी गरेका थिए । भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकको परराष्ट्रनीति केन्द्र सरकारले सञ्चालन गर्ने मुख्यमन्त्रीको अभिव्यक्ति सरकार नभएको दाबी गरेका थिए ।

अर्को प्रसंगमा अध्यक्ष यादवले सरकारले संविधान संशोधन गरेर राष्ट्रिय मुद्दा हल गर्न तयार भए आफूहरु सरकारमा जान तयार रहेको बताए ।

वर्तमान सरकारलाई आफूहरुले समर्थन गरिसकेको भन्दै उनले एकरदुई मन्त्रालय लिएर जागिर खानका लागिमात्रै सरकारमा जानुको औचित्य नहुने जिकिर गरे ।

अध्यक्ष यादव भरतपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन आएका हुन् ।

कमेन्ट गर्नुहोस्