कर्णाली राजमार्गबाट डोल्पामा गाडी पुग्दा…

डोल्पा, वैशाख ३१ । जगदुल्ला गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ ।

छिमेकी जिल्ला जुम्लासम्म पुगेको कर्णाली राजमार्गबाट जगदुल्ला गाँउपालिकामा पहिलो पटक जीप पुगेको छ ।

जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउँपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट बा १९ च १६६८ नंको जिप पुगेपछि स्थानीयवासीले खुशी हुँदै स्वागत गरेको र जीप हेर्नेहरुको भीड लागेको स्थानीयवासी हरिबहादुर शाहीले बताउनुभयो ।

साविकको रिमी र काइगाउँ गाविस मिलेर बनेको जगदुल्ला गाउँपालिकामा कर्णाली राजमार्गमा जोडिने डोल्पाको पहिलो स्थानीयतह भएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायालेले बताउनुभयो ।

“ठूलो प्रयासबाट जगदुल्ला गाउँपालिकालाई जीप सञ्चालन कर्णाली राजमार्गमा जोड्न सफल भयौँ, अबको केही महीनामा साना मालवाहक गाडी पनि सञ्चालनमा आउने छन्” अध्यक्ष रोकायले भन्नुभयो ।

जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरे लेकबाट त्रिपुरासुन्दरीसम्मको ७२ किलोमिटर सडकखण्ड हाल निर्माणाधीन छ ।

नेपालगञ्जबाट लामो दूरीमा पर्ने भए पनि कर्णाली राजमार्गमा जगदुल्ला गाउँपालिका जोडिएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य सामान सस्तो हुने र यात्राका लागि पनि सहज हुनेछ ।

कमेन्ट गर्नुहोस्