मुख्यमन्त्री राउतले संविधानप्रति असन्तुष्टि राखेर के गलत गरे : कर्ण

काठमाडौं, वैशाख ३१ । राष्ट्रिय जनता पार्टीका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले प्रदेश नं २ मुख्यमन्त्री लालबाबु राउतले संविधानप्रति असन्तुष्टि व्यक्त गरेको कुराको बचाउ गरेका छन् । साथै उनले असन्तष्टी प्रकट गरेर के गलत गरे भन्दै प्रतिप्रश्न गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयाजित साक्षात्कारमा उनले भने, ‘हामी त चुनावमा पनि संविधानको विरोध गरेर नै सहभागी भएको हो नि । जनताले हामीलाई राम्रो पोजिशन बनाएर पठाईदिए । संविधानप्रति असन्तुष्टि राखेर मुख्यमन्त्रीले बोल्दा के गलत गर्नुभयो त ? जुन कुराको लागि हामी अहिलेसम्मपनि लडिरहेका छौं।’

वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा गरिएको नागरिक अभिनन्दन समारोहमा २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यले आफूहरुलाई अपहेलित गरेको अभिव्यक्ति दिएका थिए ।

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालदेखि चौतर्फी विरोध भएपछि आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो राष्ट्रिय मर्यादा र कूटनीतिक मर्यादा विपरित भएको बताउदैं त्यो अक्षम्य गल्ती भएको स्वीकार गरेका थिए ।

२ नं प्रदेशमा फोरम र राजपाको गठबन्धन सरकार छ । राउत संघीय समाजवादी फोरमबाट मुख्यमन्त्री बनेका हुन ।

सोमबा नै चितवनमा आयोजित एक कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादवले पनि उनको बचाउ गरेका थिए । राउतले भएको कुरा बोलेको सत्य तीतो हुने टीप्पणी गरेका थिए ।

कर्णको मुख्यमन्त्रीले भएको कुरा बोलेको दाबी गरे । कर्णले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले आँफै भारतले नाकाबन्दी लगाएको भनेर हल्ला गरेपनि अहिले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे संसदमा घण्टौंघण्टा भाषण गरेर भ्रमण सफल र फलदायी भएको भनेर बोलेको बताए ।

हिजो संविधानको विरोध गरेर आफूहरु नाकामा धर्ना बस्दा भारतले नाकाबन्दी लगायो भनेको स्मरण गराउँदै नेता कर्णले भने,“अहिले उहाँहरुले नै मोदीजीलाई वार्म वेलकम गर्नुभयो, जानकी मन्दिरमा त एउटै ड्रेस लगाएर दर्शन गर्नुभयो।”

मोदीको नेपाल भ्रमण सफल र फलदायी भएको कर्णको विश्वास छ । उनले भने,“मोदीजीले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन तथा विशेष पूजा गर्नुभयो, यसले नेपालको धार्मिक पर्यटनको विकासमा ठूलो टेवा पुगेको छ, अब भारतबाट २र४ प्रतिशतमात्रै हिन्दू पर्यटकहरु ल्याउन सकियो भने नेपालको पर्यटन क्षेत्रको ठूलो विकास हुन्छ।”

मोदीको भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीद्धारा रामायण सर्किटको उद्धघाटन् भएकोले अयोध्यादेखि जनकपुरसम्म बस सञ्चालन हुनु जनकपुरको विकासमा ठूलो टेवा पुगेको उनको विश्वास छ । उनले भने,“नेपाल र भारतबीचमा विशेष सम्बन्ध छ, अब यो बस सेवा सञ्चालनसँगै धार्मिक पर्यटकहरु आउनेजाने क्रम हुन्छ, यो हाम्रो लागि खुशीको कुरा हो।“

फरक प्रसँगमा उनले प्रदेश सरकारमा वाम गठबन्धनले आफूहरुलाई सहयोग गरेकोले आफूहरुले पनि संघमा सहयोग गरेको र संविधान संशोधन गर्छौं भनेकोले संघमा सरकारलाई समर्थन गरेकोले प्रदेशमा वाम गठबन्धनको समर्थन रहुञ्जेलसम्म सरकारलाई समर्थन गर्ने स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्