अस्ताए हरि गुरु

भक्तपुर, वैशाख ३१ । मस्तिष्काघातका कारण निधन भएका भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्य एवं नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिव ५१ वर्षीय हरिशरण लामिछानेको आज साँझ अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा लामिछानेको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको झण्डा ओढाउनुभयो भने अर्का पूर्वप्रधानमन्त्री एवं नेता माधवकुमार नेपालले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

रक्षामन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले पार्टी सचिव योगेश भट्टराई, भीम आचार्य, पोलिटव्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डेलगायत नेताले पनि पशुपति पुगेर लामिछानेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

त्यसैगरी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, उपसभामुख राधिका तामाङ, प्रदेशमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेश नं १ का मन्त्री हिक्मत कार्की, नेकपा माओवादी केन्द्र सचिवालय सदस्य दिलीप प्रजापति, राप्रपा
प्रजातान्त्रिकका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहलगायतले लामिछानेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

लामिछानेको पार्थिव शरीरमा उहाँका छोरा कृष्णशरणले दागबत्ती दिनुभयो । लामिछानेप्रति नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

गत मंसिर २१ गतेको प्रदेशसभा निर्वाचनमा भक्तपुरबाट एमालेका तर्फबाट निर्वाचित लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिनामै टुङ्गिएको छ ।

एक साता लामो रारा भ्रमण सकेर शनिबार साँझ घर आइपुग्नुभएका उहाँलाई आइतबार टाउको दुखेपछि काठमाडौं मेडिकल कलेज सिनामंगल ल्याइएकामा चिकित्सकले मस्तिष्काघात भएको जानकारी गराएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उहाँको आज अपराह्न निधन भएको हो ।

विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६ नगरकोट तेलकोटमा पिता हरिप्रसाद र आमा देवमायाका कोखबाट जन्मनुभएका उहाँले २०३९ सालमा तत्कालीन नेकपा मालेको भ्रातृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । विसं २०४६ को आन्दोलनका क्रममा घाइते हुनुभएका उहाँ प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा १३ पटक गिरफ्तार हुनुभएको थियो ।

राजनीतिमा एक आदर्श व्यक्तिका रुपमा परिचित उहाँलाई भक्तपुरमा एमालेले मात्रै नभई अन्य पार्टीका नेता तथा कार्यकर्ताले पनि एक आदर्श व्यक्तिको रुपमा मान्दै आदरका साथ ‘हरि गुरु’ भनेरै सम्बोधन गर्थे । उहाँका श्रीमती, एक छोरा र तीन छोरी छन् । रासस

कमेन्ट गर्नुहोस्