भरतपुरकी मेयर रेणुको सक्रियता : चीनको सिपिङसंग भगिनी सम्बन्ध स्थापना

सुरेशचन्द्र अधिकारी/

काठमाडौं, जेठ १ ।  छिमेकी मित्रराष्ट्र चीनको जिलिन प्रान्तमा रहेको सिपिङ सिटी र नेपालको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सिपिङ सिटीका प्रमुख गुओ लिङ्जी र भरतपुर महानगर प्रमुख रेणु दाहालले आइतबार चीनको सिपिङमा दुई नगरबीच मैत्रीपूर्ण र समन्वयात्मक सम्बन्ध स्थापनाका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएपछि भगिनी सम्बन्ध कायम भएको हो ।

चारबुँदे सम्झौतापत्रमा अर्थतन्त्र, व्यापार, विज्ञान तथा प्रविधि, सँस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, जनशक्ति लगायतका क्षेत्रमा साझा समृद्धि र विकासको प्रवद्र्धन गर्न समानता र आपसी लाभको सिद्धान्तका आधारमा दुई पक्षबीच सहयोग आदानप्रदान र समन्वय गरिने उल्लेख छ ।

हस्ताक्षर भएको मितिले पाँच वर्षको लागि सम्झौता कायम रहने छ । साझा चासोका विषयमा द्वि–पक्षीय सहजीकरणका लागि नियमितरुपमा सम्पर्क कायम गरिने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतापत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्नुहुँदै भरतपुर महानगर प्रमुख रेणु दाहालले आउँदो दशवर्षमा पूर्वाधार, सामाजिक तथा सेवा क्षेत्रमा उल्लेखनीय लगानी गरी विश्वस्तरको नगरको रुपमा भरतपुरलाई विकास गर्ने लक्ष्य लिइएको बताउनुभयो । यसका लागि लगानीमैत्री नीतिको निर्माण गरी लगानीको वातावरण सिर्जना गर्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने बताउँदै उहाँले सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाई बस्नयोग्य शहरको रुपमा भरतपुरको विकास गरिने बताउनुभयो ।

‘चिनियाँ क्रान्तिपश्चात चीनले गरेको विकास र आर्थिक समृद्धिजस्तै नेपालमा पनि राजनीतिक परिवर्तनपछि स्थायित्व र समृद्धिको प्रकृया सुरु भएको छ’ दाहालले भन्नुभयो, ‘गत वर्ष स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि भरतपुर महानगरपालिकामा विकास र समृद्धिका कार्यक्रम तीब्ररुपमा सञ्चालन हुँदैछन् । सिपिङ सिटी र समग्र चीनको विकास र समृद्धिले हामीलाई पनि विकासका लागि उत्प्रेरित गरेको छ ।’

भरतपुर महानगर प्रमुख दाहालले दुई शहरबीच कायम भएको भगिनी सम्बन्धले नेपाल र चीनबीचको सम्बन्ध अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भरतपुर महानगरको आर्थिक विकासका आधारहरु शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासमा लगानी गर्न सिपिङ सिटीका निजी क्षेत्र र चिनियाँ सरकारसँग आग्रह गर्नुभयो । महानगर प्रमुख दाहालले सिपिङ सिटी प्रमुख लिङ्जीलाई भरतपुरमा स्वागत गर्ने अपेक्षा प्रकट गर्नुभयो ।

कमेन्ट गर्नुहोस्