एकता भाँडिएला भन्ने सोचेका छैनौं, तर परिपक्व हुनैपर्छ : बर्षमान पुन

नेकपा एमाले र माओवादी केन्द्रबीच लामो समयदेखि पार्टी एकीकरणको कसरत भइरहे पनि टुंगो लाग्न सकेको छैन। दुई पार्टीले पटक–पटक एकीकरणको मिति तोके पनि एकीकरण भने हुन सकेको छैन। अन्तिममा पुगेको भनिएको एकीकरणको विषय फेरि ओझेलमा पर्न थालेपछि नहुने हो कि भन्ने शंका पनि उब्जिन थालेको छ। कतिपयले सुरुदेखि नै भन्दै आएको असम्भव एकीकरणलाई बल पुर्‍याएको छ।

दुई पार्टीले अन्य कम्युनिष्टसँग पनि एकीकरणको कुरा गरिरहँदा सरकारकै मन्त्रीबीचमा केही तीक्तता समेत देखिएको छ। माओवादी नेता तथा उर्जामन्त्री बर्षमान पुनले अरुण तेस्रो जलविद्युत आयोजनाको उद्घाटन गर्दा आफूलाई वाइपास गरेको गुनासो गरेका छन् । दुई पार्टीबीचका फरक मत समेत मिलिसकेका छैनन्। पार्टी एकीकरण र समसामयिक विषयमा उजिर कार्कीले ऊर्जा, जलस्रो तथा सिचाइँमन्त्री बर्षमान पुनसँग कुराकानी गरेका छन्।

तपाईंहरुबीच पार्टी एकीकरण किन ढिलो भइरहेको छ?  
पार्टी एकीकरणका लागि आन्तरिक घोषणा पत्र अथवा अन्तरिम विधान तयार भइसकेको छ। त्यसमा कार्यदलले आफ्नो काम सकाएर एकता संयोजन समितिलाई बुझाइसकेका छौं र त्यहाँ छलफल पनि भएर दुईजना अध्यक्षलाई अन्तिमरुप दिने जिम्मेवारी दिइएको छ। त्यसमा केही राजनीतिक कुरो, केही सैद्धान्तिककुरो, केही संगठनात्मक कुरो बाँकी छ। त्यो टुङग्याएर हामी एकता गर्छौं।

पार्टी एकीकरण अझै अन्योलमै छ तर तपाईंहरु चुनावअघि नै मिलेर चुनाव लड्नु भएको थियो। त्यसले माओवादीलाई के फाइदा गर्‍यो? एमालेलाई के ? 
यसमा समग्रमा देशलाई फाइदा भयो। देशले स्थायीत्व र स्थिर सरकार खोजेको थियो। यो गठबन्धनले स्पष्ट बहुमत हासिल गर्‍यो।  स्थायीत्वका लागि आधार तयार गर्‍यो। जहाँसम्म पार्टीगत कुरा छ एमाले र माओवादी दुवैलाई सिट तालमेल गरेपछि एउटै घोषणा पत्र तयार गरेपछि हाम्रो पक्षमा बहुमत जुट्यो। अब सँगै बसिसकेपछि घटिबढी कुरो हुँदैन, पक्कै पनि। एमालेको मतले हामीलाई र हाम्रो मतले एमालेलाई फाइदा गरेको छ,हामीले पार्टी छुट्याएर नाफा घाटा हिसाब गरेका छैनौं।

पार्टी एकीकरण गर्ने भनेको धेरै समय भैसक्यो, कहिले के कहिले के विषय उठिरहेका छन्। खास तपाईंहरुको हैसियत नमिलेर वा व्यवस्थापन गर्न नसकेर हो कि राजनीतिक मुद्दा नै नमिलेर ढिलो भइरहेको हो ? 
५० वर्षदेखि अलग अलग रुपमा चलिरहेका अलगअलग आन्दोलन हुन्। त्यो दुईटा आन्दोलनले देशमा एक चरणको क्रान्ति पूरा भयो। अब संविधानले भने जस्तै समाजवादमा जाने, आर्थिक सामाजिक र राज्यको स्वरुप बनाउन नयाँ कार्यदिशा तयार गर्न लाग्नुपर्ने बेला आएको छ। अब हामी त्यहीअनुसार जान्छौं र त्यो हाम्रो मिलनबिन्दु हो। यो मिलनबिन्दुमा काम गर्ने क्रममा निश्चय पनि हामीले विस्तारै अलग धारलाई एउटा धार बनाउनु छ। यसो हेर्दा दुई जना अध्यक्षको तहमा भएको छलफल हामीले जनयुद्ध गर्‍यौँ, इतिहासको आवश्यकताले जनआन्दोलन गर्‍यौँ। ती दुईटा आन्दोलनको समान गर्ने र स्थापित गर्ने कुरो त्यसलाई दस्तावेजमा उल्लेख गर्ने कुरो, त्यसैगरी कम्रेड प्रचण्ड, कम्रेड केपी ओली लगायत मुख्य नेताहरुको यो परिवर्तनमा, यो रुपान्तरणमा दस्तावेजमा राख्ने, त्यसलाई स्वीकार गर्ने कुराहरु त्यसलाई दुवै पार्टीका संगठनात्मन संरचना त्यसलाई समानता आपसी विश्वासको आधारमा एकता गर्ने हो। संख्यात्मक रुपले भावनात्मक रुपले एकता गर्ने कुराहरु मिलाउन बाँकी छ। यो मिल्ने बित्तिकै एकता हुन्छ।

ठ्याक्कै भन्दिनू न। दुईटा पार्टीको हैसितयको पनि कुरा आइरहेको छ। तपाईंहरुको राजनीतिक मुद्दा नमिलेको कि व्यवस्थापन गर्न नसक्नु भएको ? 
अलिअलि विचारको प्रश्न पनि हो। हामी माओवाद भन्छौं, उहाँहरु जनताको बहुदलीय जनवाद भन्नुहुन्छ। हामी एक्काइसौं शताव्दी पनि भन्छौं, धेरै कुरा छन् । त्यसलाई महाधिवेशनमा लगेर छलफल गर्ने र नयाँ विचार निर्माण गर्ने भन्ने मोटामोटी कुरा भइरहेको छ तर ठ्याक्कै मिलिसकेको छैन। यो भयो विचारको प्रश्न। राजनीतिको प्रश्नमा पनि विगतका आन्दोलनको समीक्षा, यसलाई स्थापित गर्ने, यसको योगदानहरुलाई एक अर्काले सम्मान गर्ने कुरो र यसलाई कसरी स्थापित गरेर जाने भन्ने कुरा कहिँ कहिँ बाँकी जस्तो देखिन्छ।

संगठानत्मक कुरोमा चाहिँ एकता भनेको समानताको आधारमा हुने हो र आपसी विश्वासमा हुने हो। समानताका आधारमा एकता हुनुपर्छ त भनेका छौं तर त्यसको ठ्याक्कै रुप के हो त? केन्द्र स्थानीय संगठनहरु कसरी बनाउने भन्ने कुरो टुंगो लागेको छैन। त्यसैगरी महाधिवेशन सम्मेलनहरुसम्म जाँदा हामी कुन कुन स्टेपमा कसरी जान्छौं आपसी समझदारी कसरी बनाउछौं? नत्र भने महाधिवेशनसम्म जाने चुनाव लड्ने, एकले अर्कोलाई हराउने खालको हुन्छ कि भन्ने प्रश्न छन्।

निरन्तरको अलमलले शंका जन्माउन थालेको छ भने पार्टी एकता त हुन्छ?
पार्टी एकता त हुन्छ। समानताका आधारमा हुन्छ। विचारमा प्रस्ट भएर हुन्छ। राजनीतिमा स्पष्ट भएर हुन्छ। संगठनमा स्पष्ट भएपछि हुन्छ। हतारमा हैन, यी सबैकुरा मिलाएर मात्रै गर्छौं। एकथरी मान्छे जसरी पनि गरौं भन्छन्, एकाथरि आवश्यक छैन भन्छन् तर आवश्यक छ। लामो समयदेखि अलग अलग विरासतमा हुर्किएको पार्टी नेतृत्वलाई विस्तारै विश्वासको वातावरण बनाउँदै एकता गर्नुपर्छ। एकता संभव छ ।

पार्टी एकता भएन भने माओवादीलाई के घाटा छ ?
घाटा नाफाको कुरा हैन। अब देशले समृद्धि चाहेको छ। विकास चाहेको छ। नयाँ राजनीतिक वातावरण चाहेको छ। त्यहाँसम्म जानका लागि एउटा बलियो शक्ति जरुरी छ। एउटा क्रान्तिकारी प्रगतिशिल शक्ति त्यो चाहिँ माओवादी र एमाले मिल्दा बन्छ। हामीले नाफा र घाटाका रुपमा मात्रै हेरेका छैनौं। नाफा त अहिले हुन सक्ला। कोही प्रधानमन्त्री हुन सक्लान्, धेरै मान्छे मन्त्री हुन्छन् होला तर हामीले त्यसरी हेरेका छैनौं। अहिले इतिहासले जनताले वाम गठबन्धनको एकता चाहेको छ। त्यही अनुसार अगाडि बढ्ने हो।

तपाईंले भनेजस्तै दुबै पार्टीभित्र मिल्नु हुन्न भन्ने पक्ष पनि छ। त्यो पक्षचाहिँ बलियो हुँदै गयो भने पार्टी एकता नहोला नि त ? 
पार्टीभित्र पनि मेरो पोजिसन के हुन्छ, म कहाँ पर्छु ? मैले उठाएर आएको विचार, राजनीति के हुन्छ भन्ने चिन्ता हुनु स्वभाविक कुरा हो। दशौं हजारको बलिदानबाट माओवादी केन्द्र आएको छ। जनताको वहुदलीय जनवाद भनेर तीस वर्षको संघर्षबाट एमाले आएको छ। एमालेले सोच्दा सानो पार्टीलाई किन धेरै भाउ दिने भन्ने होला। हामीसँग अनुभव छ, संगठन छ भन्ने होला। माओवादीतिर आउँदा अहिलेको एजेन्डा हामीले स्थापित गरेका हौं गणतन्त्र, संघीयता, समावेशीता अहिलेको सबै परिवर्तन हामीले ल्याएका हौं अनि हामीले किन आफूलाई कमजोर ठान्ने भन्ने होला। अमुक नेताका पोजिसनका कुरा होलान्, त्यो त भैरहन्छ तर इतिहासले मागेको एकता हो। यो एकता भाँडिएला, एकता नहोला कि भन्ने सोचेका छैनौं। तर परिपक्व कसरी बनाउने भन्नेमा चाहिँ चिन्तित छौं। धेरै छलफल भैसकेको छ। तर दुई जना अध्यक्षले अझै छलफल गरौं भन्नुभयो भने समय लिन सक्छ।

हिजो तपाईंहरुसँगै जनयुद्ध लडेका विप्लव, वैद्यसँग पनि एकताको कुरा गर्नु भएको छ नि। के हुँदैछ उनीहरुसँगको कुरा चाहिँ? 
हामी हिजो जनयुद्धमा सँगै भएका मोहन वैद्य, विप्लवसँग एकता गर्न सधैं नै खुल्ला छौं। हामी अलग हुँदा पनि कहिल्यै गाली गर्दै हिँडेनौं। एकताको आवश्यकता छ, उहाँहरुले गल्ती गर्नु भएको छ। बाटो बिराउनु भएको छ। कुनै दिन यो आन्दोलनमा आउनु हुन्छ भन्ने हिजो पनि थियो। आज पनि छ। त्यति मात्रै हैन, बावुरामजीलाई पनि तपाईं आउनुस् भनेका छौं। उहाँ एउटा व्यक्तित्व हो, एउटा आन्दोलनमा लागेको दुख गरेकै मान्छे हो आज अलिकति फरक धारमा हिड्नु भाछ। यति मात्रै हैन। हामी त उपेन्द्र यादवजी जो फरक आन्दोलनबाट आउनु भएको छ, उहाँलाई पनि एक ठाउँ बसौं भनिरहेका छौं। अहिलेको परिवर्तनमा सँगै काम गरेको हो। कुनैबेला उहाँ पनि हाम्रो पार्टीमै हुनुहुन्थ्यो। सँगै काम गरौं भनिरहेका छौं, सकरात्मक छलफल पनि भएको छ।

तपाईं सकारात्मक छलफल भैरहेको छ भन्नुहुन्छ। उहाँहरु तपाईंहरुलाई सामन्ती दलाल भन्दै हिँडिरहनु भएको छ। कसरी सम्भव हुन्छ एकता?
कुनैबेला किरणजीले हामीलाई त्यसै भन्नुहुन्थ्यो। उहाँसँग भएका साथीहरु आज हामीसँगै छौं। रामबहादुर थापा वादलजी, देव गुरुङजी, पम्फाजीहरुसँग निक्कै तिक्तता जस्तो थियो। तर आज हामी एकै ठाउँ, एउटै क्याबिनेट, एउटै संसद र पार्टीमा छौं। त्यसैले मान्छेलाई गतिमा, वस्तुलाई परिवर्तनमा रुपान्तरणमा बुझ्नु पर्ने हुन्छ। आज एउटा पोजिसन हुन्छ। भोलि पोजिसनहरु चेन्ज हुन्छन्। कहिले एकता माग गर्छ देशले, कहिले अलग्याउँछ परिस्थितिले। परिस्थिति परिवर्तन हुँदा मान्छेका सोचहरु पनि परिवर्तन हुन्छ। कुनै दिन विप्लवजी, किरणजीहरु पनि हामी सँगै आउन सक्नु हुन्छ, परिस्थितिले त्यो भन्छ।

आजको परिस्थितिले त त्यो भन्दैन नि। विप्लव, वैद्य र तपाईंहरु विपरीत ध्रुबमा हुनुहुन्छ। तपाईंहरु उहाँहरुलाई कारबाही गर्ने ठाउँमा हुनुहुन्छ।
कुनैबेला एमालेसँग हामी विपरीत जस्तो लाग्थ्यो। संघीयताको कुरो, गणतन्त्रको कुरो समावेशीताको कुरामा। तर आज सहकार्य गर्दागर्दै पार्टी एकताको ठाउँमा आइपुगेका छौं। अहिले ठिकै छ एकदम अलगधार जस्तो भएको होला। तर कुनै पनि बेला परिस्थिति परिवर्तन हुन्छ। वस्तु वा संगठन, मान्छेहरु परिवर्तन हुन्छन्। हो अहिले उहाँहरु हामीलाई अलि टाढाको देख्नु हुन्छ, अरुलाई मित्र देख्नुहुन्छ। तर त्यो गल्ती हो। हामी नै नजिक हो एजेन्डाको हिसाबले। सोचको हिसाबले हामी नै नजिक हो। कुनै पनि बेला उहाँहरुले आफूलाई करेक्सन गर्नुहुन्छ। गर्नुपर्छ।

यो सिंहदरबारमा बसेर हेर्दाखेरि विप्लव, वैद्यका गतिविधि कस्तो लाग्दोरैछ ?
हैन, हाम्रो संविधानले संगठन गर्न, आन्दोलन गर्न, आफ्ना एजेन्डा शान्तिपूर्ण रुपमा भन्न कहिँपनि रोक लगाएको छैन। तर त्योभन्दा पर गएर एउटा सीमा नाघ्यो भने राज्यका निकायहरु छन्, तिनले काम गर्छन्। म बसौं या भोलि विप्लव नै यहाँ बसे पनि। त्यसैले त्यसलाई हामीले सहज रुपमा लिनुपर्छ। अहिले नै हामी उहाँहरुलाई दमन गरौं सिध्याउँ भन्नेमा छैनौं। उहाँहरुले हामीलाई दुनियाँ तथानाम गाली गर्ने, आरोप लाउने गर्नुभएको छ, त्यो कुनै पनि हिसाबले पुष्टि हुँदैन। उहाँहरुले पनि इतिहासको जवाफदेही बन्नुपर्छ। अहिले आफ्नो सरकार हुँदा पनि बल प्रयोग गर्छु भन्ने भयो भने त्यो अर्घेल्याइँ हुन्छ। उहाँहरुले लिनु भएको बाटो त्यस अर्थमा अवैज्ञानिक छ। बसौं न त आफूसँगै काम गरेका सँगै हिंडेका साथीहरुसँग। शान्तिपूर्ण रुपले एउटा टेवुलमा बसेर सम्बोधन गर्न सकिने विषयमा यति ठूलो खैरो खनाखन, लडाईं, भिडाईं किन गर्ने ? यो प्रश्न विप्लवजीलाई हो। उहाँले पनि जवाफ दिनु पर्ने हुन्छ इतिहासलाई।

तपाईले भनेको सीमा अहिलेसम्मचाहिँ विप्लवले नाघ्नुभएको छ कि छैन ?
ठाउँ ठाउँमा बम पड्काउने। सार्वजनिकस्थलमा मान्छेहरुलाई तर्साउने। सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, अनि पैसाको वार्गेनिङ गर्ने, कोही नेता विशेषलाई, कोही उद्यमी विशेषलाई टार्गेट गरेर थ्रेट गर्ने, त्यो त सीमाभन्दा बाहिरकै कुरा हो नि त। कहिँ घोषित रुपमा जनयुद्ध गर्छु भन्ने पनि छैन। क्रान्तिमा जान्छु भन्ने पनि छैन। अघोषित रुपमा यसो गर्नु भनेको त अपराध हो नि त। उहाँले मैले के गर्दैछु भन्ने घोषित रुपमा भन्नु पर्‍यो दुनियाँलाई। कम्युनिष्टहरु भनेको स्पष्ट हुन्छन्। खुल्ला हुन्छन्। आफ्नो उद्देश्य बताउँछन्। लुकाउँदैनन्। जस्तै हामीले चुनाव लड्छौं, चुनाव जित्छौं, यहिँबाट परिवर्तन गर्छौं भनेका छौं। जनताले त्यही अनुसार विश्वास गरेका छन्। उहाँहरुलेचाहिँ गर्न खोजेको के हो ?

यो हो भनेदेखि राज्यले त्यहि अनुसार पोजिसन बनाउँछ। हैन भने उहाँका कार्यकर्ताहरु अपराधिक गतिविधिका नाममा जेल जान्छन्। उहाँले संरक्षण गर्न सक्नुहुन्न। राजनीतिक आन्दोलन हो भने त्यही अनुसार हेरिन्छ। तर बिनाघोषणा मान्छे मार्‍यो, तोडफोड गर्‍यो भने के हुन्छ? कानुन अनुसार त्यहि गर्ने हो।

सरकारभित्रै पछिल्लो समय केही खटपट देखिएजस्तो छ। भारतीय प्रधानमन्त्री आउँदा दूतावासले राखेको भोजमा माओवादीका मन्त्रीहरु नजानुको कारण के हो ?
जाने समय मिलेन त्यही भएर हो। त्योभन्दा अरु केही पनि छैन।

पार्टीको कुनै कार्यक्रम पनि थिएन । संयोग त पक्कै हैन होला।
संयोग नै हो मेरो त। मेरो अर्थमा मैले जवाफ दिन सक्छु। अरु साथीहरुचाहिँ खै के कारण जानु भएन।

अरुण तेस्रोमा भएको विमतिका कारण पो हो कि ?
विगतमा हो। कांग्रेस, एमालेका साथीहरुले यो आयोजना अगाडि बढाउनु भयो। त्यतिबेला हामी अपोजिसनमै थियौं। हाम्रो पार्टीले फरक मत राखेकै हो। हाउसमा पनि, अरु ठाउँमा पनि। अहिले पनि फरक मत छन् पार्टीका। पार्टीले राखिरहेको छ। यसको पीडिए भनेजस्तो भएको छैन। स्थानीय जनताको माग भने जसरी सम्बोधन भएको छैन। त्यही कारण भोजमा नगएको, प्रधानमन्त्रीलाई असहयोग गर्न खोजेकोचाहिँ हैन। पार्टीले आफ्ना रिजर्भेसन त राख्न सक्छ नि कहिलेकाहिँ। देश सञ्चारबाट साभार गरिएकाे ।

कमेन्ट गर्नुहोस्