‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग

काठमाडौँ । प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार माग गर्नुभएको छ।

सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले आज प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र आर्थिक विकासका लागि प्राथमिकता दिन आग्रह गर्नुभएको हो । उहाँहरुले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढी पहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गर्नुभएको टोलीमा रहनुभएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

नेकपा (एमाले) का सांसद सुमनराज प्याकुरेलका अनुसार प्रधानमन्त्री ओलीले मागहरु जायज र आवश्यक भएको र आफू तराई मधेशका साथै सिङ्गो मुलुकको विकासका लागि गम्भीर रहेको बताउँदै प्राप्त सुझावलाई कार्यान्वयन गर्ने विश्वास दिलाउनुभएको थियो । रासस

कमेन्ट गर्नुहोस्