केरुङ–काठमाडाैं रेलमार्गको प्रारम्भिक अध्ययन शुरु, चिनियाँ रेल नेपालमा कहिले आइपुग्छ ?

काठमाडौं, जेठ १ । चीनको केरुङबाट काठमाडौंसम्मको रेलमार्ग निर्माणको प्रारम्भिक अध्ययन तीन महिनामा सकिने हालै चीन पुगेर फर्किएका नेपाली अधिकारीहरूले बताएका छन्।

भौगोलिक हिसाबले गाह्रो र महँगो पर्न सक्ने भनिएको सो रेलमार्गको लगानीको प्रारूप चाहिँ प्रधानमन्त्री केपी ओलीको प्रस्तावित चीन भ्रमणमा तय हुने बताइएको छ।

चीनको राष्ट्रिय रेल प्रशासनले केरुङ(काठमाण्डूसम्म रेलमार्गबारे अध्ययन थालिसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

नेपाललाई रेलमार्गबाट जोड्न विगतको सरकारले चीनसँग गरेको समझदारी अनुसार गत हप्ता चिनियाँ प्राविधिक टोलीसँग नेपाली उच्चस्तरीय टोलीले चीनमा छलफल गरेको थियो।

अबको तीन महिनामा भौतिक पूर्वाधार अध्ययनको पहिलो प्रतिवेदन सार्वजनिक हुने उक्त छलफलमा सहभागी तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए।

कहिले आउला चिनियाँ रेल ?

उनले भने, ‘अध्ययन र स्थलगत अवलोकनको काम भइरहेको छ। आगामी अगष्टसम्ममा प्रारम्भिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।’

समुद्र सतहबाट ४ हजार मिटरमाथि रहेको केरुङबाट १५ सय मिटरको उचाइमा रहेको काठमाडौंसम्मको रेलमार्ग निर्माण निकै कठिन हुने निष्कर्ष दुवै टोलीको छ।

अर्को मुख्य चुनौतीका रूपमा लागतलाई हेरिएको छ।

लगानीको प्रारूप कस्तो हुने वा लगानी कसले गर्ने भन्ने विषयमा निर्णय हुनुपर्ने रेल विभागका महानिर्देशक अनन्त आचार्यको भनाइ छ। उनका अनुसार प्रधानमन्त्री केपी ओलीको प्रस्तावित चीन भ्रमणमा लागतको विषयमा कुरा हुन सक्छ।

महानिर्देशक आचार्यले भने, ‘खर्च कसरी कुन मोडालिटीमा बनाउने भन्ने विषयमा निर्णय भएको छैन। निकट भविष्यमा हुने प्रधानमन्त्रीको चीन भ्रमणमा त्यस विषयमा आउला कि भन्ने हामीले आशा गरेका छौँ।’

चीन–नेपाल जोड्ने प्रमुख व्यापारिक नाका बन्दै गरेको केरुङ(काठमाडौं रेलमार्ग निर्माण गर्ने निर्णय तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराको बेलामा भएको थियो।

वर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको हालैको चीन भ्रमणको बेला पनि त्यसबारे छलफल भएको थियो।

उक्त रेलमार्ग काठमाडौं पुगेपछि पोखरा हुँदै लुम्बिनीसम्म विस्तार गर्ने योजना छ । बीबीसी

कमेन्ट गर्नुहोस्