मोदीको सुझावपछि राजपा र फोरम पार्टी एकताकाे पहलमा ?

काठमाडौं, जेठ २ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किसके । तर, मोदी भ्रमणको ‘साइड इफेक्ट’ दुई मधेसी पार्टीमा देखिएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोेरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणको विषय बाहिर आएको छ ।

फोरम नेपाल र राजपा नेपालका शीर्ष नेताहरुले प्रधानमन्त्री मोदीलाई भेटेपछि यो कुरा चर्चामा आएको हो । वैशाख २९ गते ह्यात होटलमा भएको छुट्टाछुट्टै भेटघाटमा प्रधानमन्त्री मोदीले दल शक्तिशाली भए सानातिना समस्या आफैं समाधान हुने भएकाले एकता गर्न दुबै पार्टीलाई सुझाव दिएका थिए ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहितका अध्यक्षमण्डलका सदस्यहरुसँग मोदीले छुट्टाछुट्टै भेट गरेका थिए ।

प्रधानमन्त्री मोदीले शुरुमा राजपा नेपालका अध्यक्ष मण्डलमा रहेका छजना नेतासँग एकैपटक भेट गरेका थिए । त्यसपछि फोरम नेपालका अध्यक्ष यादवसँग भेटवार्ता भएको थियो ।

भेटघाटमा सहभागी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मोदीले मधेसी दलहरुलाई मिलेर अघि बढ्न सुझाव दिएको बताए ।

उनले रातोपाटीसँग भने, ‘मधेशमा अहिले देखिएको सुखद परिणाम दलहरुको बीचमा भएको एकताले नै सम्भव भएको हो । यसलाई कायम गर्नुस् भनि प्रधानमन्त्री मोदीको धारणा थियो ।’

केन्द्रमा राजनीतिक स्थायित्व र मधेशमा एकता भए मात्र अधिकारको लडाई जित्न सकिने भन्दै एकता गर्न प्रधानमन्त्री मोदीले सुझाव दिएको यादवले बताए ।

अलग अलग रहेका छवटा दल तमलोपा, सदभावना, फोरम गणतान्त्रिक, तमसपा र रामसपा एकीकृत भएर राजपा नेपाल बनेको थियो । एकताबाट अब फोरम नेपाल मात्र बाहिर रहेको छ ।
एक नेताका अनुसार प्रधानमन्त्री मोदीले जोड दिएर नै फोरम नेपालसँग एकीकरण गर्न राजपा नेपालका नेताहरुलाई भनेका थिए । फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार मधेश (प्रदेश २) मा रहेको छ ।

एकीकरण भएको अवस्थामा प्रदेशदेखि केन्द्रसम्म शक्तिशाली दल बन्ने र समस्या आफै समाधान हुने मोदीको तर्क रहेको थियो ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले प्रधानमन्त्री मोदीले एकीकरणमा जोड दिएको कुरा सही रहेको रातोपाटीलाई बताए ।

‘मधेशमा एकता नभएसम्म कुनै पनि अधिकार प्राप्तिको लडाईँ जित्न सकिँदैन भन्ने मोदीको धारणा थियो’, यादवले भने, ‘एमाले शक्तिशाली भएपछि विश्वको आकर्षण त्यो दलप्रति बढेको छ ।’

एक समय भारत र एमालेको सम्बन्ध राम्रो थिएन तर चुनावबाट शक्तिमा आएपछि भारतले सम्बन्ध सुधारको प्रयास गरिरहेको छ । हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पनि त्यसैको प्रयास भएको कतिपयको भनाई रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटघाटमा पनि एकतामै जोड दिएका थिए । उनले राजपा नेपालसँग एकीकरण गर्न सुझाव दिएका थिए । अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो पार्टी एकीकरणकै पक्षमा रहेको कुरा राखेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि होटल ह्यात परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले दुई देशबीचको कुटनीतिक सम्बन्धको विषयमा छलफल भएको बताएका थिए । यद्यपी फोरम र राजपा एकीकरणका विषयमा भएको कुराकानीको विषयमा केही बोलेका थिएनन् । -रातोपाटीबाट

कमेन्ट गर्नुहोस्