अाज एमाले–माओवादी पार्टी एकीकरण ‘घोषणा’, यस्तो हुनेछ नयाँ पार्टी

काठमाडौं, जेठ ३ । नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीबार (भोलि) पार्टी एकीकरणको घोषणा हुने सम्भावना बढेको छ ।

८ महिनाभन्दा लामो समयदेखि चलेको एकता प्रक्रिया बिहीबार टुंगोमा पुग्ने दावी नेताहरुले गरेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले दुई पार्टी एकीकरणको घोषणा बिहीबार गर्ने निर्णय गरेको छ ।

अाज बिहान बस्ने दुई पार्टीबीचको एकता संयोजन समितिको बैठकले एकीकरणको अन्तिम निर्णय गर्ने र त्यसपछि दुवै पार्टीका केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेपछि घोषणा गरिने बताइएको छ ।

बिहीबार नै ‘नेपाल कम्युनिष्ट पार्टी’ नामको नयाँ पार्टी निर्वाचन आयोगमासमेत दर्ता गर्ने दावी पनि गरिएको छ ।

नयाँ पार्टीको चुनाव चिह्न सूर्य हुनेछ भने केन्द्रीय समिति ४४१ सदस्यीय हुने पनि जनाइएको छ । जसमा एमालेबाट २४१ र माओवादीबाट २०० जनालाई समेटिनेछ ।

यस्तै, नयाँ पार्टीको स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ गरी ४३ सदस्यीय रहने जानकारी पनि नेताहरुले दिएका छन् ।

कमेन्ट गर्नुहोस्