Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कविता : मलाइ कठाेर बन्नु छ‍‍..

सबिता लामिछाने

मलाइ कठाेर बन्नु छ ,————-आमाको कान्छी औला समातेर
मन्दिर जाँदै गर्दा पुजारीले बाटोमा बेहिसाब
मुस्कुराइरहेका फुलहरु बिना संकोच
परक्क निमोठी छिनालेदेखी हो
मलाई फुलको सुबास र सुन्दरता
दुबै मन पर्न छोडेको।
हो तेहि दिन देखि हो
मेरि सानी छोरी फुल जस्तै छ
भनेर आमाले भन्दा आफुलाइ कमजोर महसुस गरेको।
ब्लेकको माइ लभ इज लाइक रेड रेड रोज पड्दै गर्दा फुल सङ्ग स्त्रीत्व दजाएर
कोमलताको संज्ञा दिइरहदा हो मलाई कोमलता भन्ने चिज
मनै परेन ।
हो आमा बाका ठूलो सोर को
अगाडि खोच को न्याउली जस्तै लुकेको
तिम्रो आवाज सुनिरहदा हो
मलाई मेरै आवाज मन पर्न छोडेको
कक्षामा पड्दै गर्दा सानो स्वरकै कारण
मनिटर नबनाइए देखि हो
मलाई आफ्नै आवाजसङ्ग घृणा लागेको
छानीछानी किनिदिएका ती रंगिला कपडाहरुले
मेरा धेरै रङ्गहरु सोसिरहेका रहेछन
हो आमा
मेरा खुसीको रङ्ग चोरेर चम्कियका
ती रङ्गिन कपडाहरु

ती खोसिएका रंगहरु मन पर्दै पर्दैन ।
हो आमा
अब म चाहान्न फुलको रङ्ग अङालेर
फुलिदिउ ताकी कसैको भोग्या बनु
होइन अब मलाई काडा हुनु छ
मलाई कठोर हुनु छ।

समाजले कोमल र निर्बलको
सुचिमा राखेर तौलेको बुझे देखि हो
मलाई तिमिले माया गरेर दिएको छोरी शब्द नै बोझिलो लाग्न थालेको ।
हो आमा यात्रामा निस्केको समयले
तिम्रो काखबाट टपक्क टिपेर
हुत्याइदिएपछि हो मैले आफ्नो
स्थान देखेको।
रजस्वलाको असह्य पिडामा
डुब्दै गर्दा मैले सोचिरहें सहनसिल हुनु
आफैमा अभिसाप रहेछ भनेर
यि मान्छे हरु त पाहाड हुन
न दर्द बुज्छन न रोदन
भोलिका हजारौं
बहिनिहरुका आँसु यसरि नै पोखिन्छन
जसरी आज मैले पोखेको छु
यी कोक्राका कलिला नानीहरुले
आजका यी बीभत्स कथाहरु
नसुनुन न भोगुन
मैले यो सबै भोग्नु छ
आफ्नो नियती सम्झेर
अब आमा मलाई
फुल होईन काडा बन्नुछ
मलाई कठोर बन्नु छ।

भर्खरै कोर्को छोडेकी बहिनिको
बलात्कारका घटना सुनिरहदा
आफ्नै योनाङ्ग प्रती उर्लिन्छ घृणाको खहरे
ति सिन्दुरको बोज थामिरहेका दिदी आमा र भाउजुहरुको
चीत्कार सुनिरहदा तड्पिन्छ मन
र सुन्दरता भन्ने चिजसङ्ग घृणा लागेर आउछ ।
समयको इतिहासमा लुकाइएका
आमाका कथाजस्तै आफुलाइ लुकाएर
आफुलाइ माहान र उर्बरको दर्जा
दिनु छैन मलाई
ओढ्नुछैन जबर्जस्ति ओढाइएको
स्निगधताको पगरी
हो आमा यो नरम छाला र कोमल दिल
मलाई मनै पर्दैन
हो आमा
अब मलाई बन्नुछ रंङ्गहिन युगिन मानुसी
तेसैले मलाई अब कठोर बन्नु छ
मलाई काडा बन्नु छ।

सबिता लामिछाने ,गोरखा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: