नेकपाकाे तत्कालीन कार्यक्रम ‘जनताको जनवाद’

काठमाडौं, जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछिको दल ‘नेपाल कम्युनिष्ट पार्टी’को तत्कालीन कार्यक्रम जनताको जनवाद हुने निर्णय भएको छ।

दुवै दलको संयुक्त एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको र त्यसलाई एमालेको अन्तिम केन्द्रीय कमितिको बैठकले अनुमोदन गरेको नेता योगेश भट्टराईले बताए।

उनका अनुसार ‘समाजवाद उन्मुख जनताको जनवाद’ तत्कालीन कार्यक्रम हुने निर्णय भएको छ।

त्यस्तै मार्क्सवाद र लेनिनवादलाई पार्टीले मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गर्नेछ।

नेता भट्टराईले भने, ‘माओवाद, एक्काइसौं शताब्दीको जनवाद र जनयुद्ध लगायतका थुप्रै विषयलाई पार्टीभित्र आन्तरिक छलफलको रुपमा अघि बढाउने निर्णय भएको छ।’

नेता भट्टराईले एकीकृत दलको केन्द्रीय समिति ४४१ सदस्यीय र स्थायी समिति ४५ सदस्यीय हुने जानकारी दिए।

नेकपाको सबैभन्दा माथिल्लो निकाय (पार्टीको शक्तिशाली) सचिवालय हुनेछ।

त्यसमा केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, विष्णु पौडेल रहनेछन्।

नेपाल र खनाल वरिष्ठ नेता, श्रेष्ठ प्रवक्ता र पौडेल महासचिव हुने निर्णय गरिएको भट्टराईले बताए।

सचिवालयले पार्टीका केन्द्रीय संगठनको व्यवस्थापन, प्रदेश लगायतका तलका निकाय, प्रवास संगठन र मोर्चाको एकता तथा विभागहरूको गठन लगायतका गृहकार्य गर्ने बताइएको छ।

पार्टी दर्ता गर्नुअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एकीकृत दलमा परेका केन्द्रीय समितिमा परेका सदस्यहरुको संयुक्त बैठक वालुवाटारमा सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्