अमेरिकाको एउटा स्कुलमा फेरि चल्यो गोली, १० मारिएको पुष्टि

न्युयोर्क ।अमेरिकाबाट फेरि एउटा दुःखद खबर आएको छ। गत मार्चमा १७ जनाको ज्यान जाने गरी फ्लोरिडाको एउटा विद्यालयमा भएको गोलीकाण्ड बिर्सिइनु अगाडि नै टेक्सासको सान्ता फे हाई स्कुलमा शुक्रवार भएको गोलीकाण्डमा कम्तिमा पनि १० जनाको ज्यान गएको छ।

यो पछिल्ला ८ दिनहरूमा विद्यालयमा भएको  तेस्रो गोलीकाण्ड हो । यो वर्ष मात्रै २२ पटक विद्यालयहरूमा आक्रमण भइसकेको छ।

टेक्सास प्रहरीका अनुसार सान्ता फे स्कुलबाट लगभग ३२ किलोमिटर टाढा संदिग्धलाई पक्राऊ गरिसकिएको छ । साथै प्रहरीले एउटा अर्को संदिग्ध व्यक्तिलाई समेत हिरासतमा लिएको जनाएको छ।

सीएनएनका अनुसार, गोली चल्न थालेपछि विद्यार्थीहरूमा भगदड मच्चिएको र घटनापछि तुरुन्तै विद्यालयलाई खाली गरिएको थियो।

सीएनएनले डिएको जानकारी अनुसार एउटा आक्रमणकारी विद्यालयको कलाको कक्षातिर दौडेर गएको र त्यहाँ लुकेर गोली चलाउन थालेको थियो।

ह्यारिस काउन्टीका सेरिफ एड गोन्जालेजलाई उद्धृत गर्दै बिबिसीले मारिनेहरूमा अधिकांश विद्यार्थीहरू रहेको बताएको छ।

मार्चमा १७ जनाको ज्यान जानेगरी फ्लोरिडाको विद्यालयमा आक्रमण भए यता अमेरिकामा बन्दुक विरोधी अभियान चलिरहेको छ। तर राष्ट्रपति ट्रंप राष्ट्रिय राइफल संघ बन्दुक राख्न पाउनुपर्ने कानुनमा कुनै पनि महत्वपूर्ण फेरबदल गर्न चाहँदैनन् ।

कमेन्ट गर्नुहोस्