मन्त्री पुन र चीनका लागि नेपाली राजदूत पौडलबीच भेटवार्ता

काठमाडौं, जेठ ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतवार भएको भेटवार्तामा नेपाल–चीनबीच विद्युत विकासका द्धिपक्षिय सम्भावनाका परियोजनाका विषयमा छलफल भएको छ ।

राजदूत पौडेलले चीन नेपालको जलविद्युत तथा प्रसारण लाइन निर्माणमा सहकार्य गर्न निकै उत्सुक रहेको जानकारी गराउनुभएको थियो ।

यसैगरी, नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण, ऊर्जा विकास समन्वय (इनर्जी को–अपरेसन) लगायतका विषयमा छलफल भएको थियो । मन्त्री पुनले इनर्जी को–अपरेसनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसको लागी आवश्यक तयारी गर्न राजदूत पौडेललाई आग्रह गर्नुभएको थियो ।

चीनले पछिल्लो एक दशकमा १ लाख मेगावाट विद्युत उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौडेलको भनाइ थियो । चीन नेपालमा ३–३ वटा ठूला जलविद्युत तथा प्रसारण लाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको पनि पौडेलले अवगत गराउनुभएको थियो ।

जलविद्युत तथा प्रसारण लाइन आयोजनाको विवरण तयार गरेर पठाउन पनि राजदूत पौडेलले आग्रह गर्नुभयो । भेटमा मन्त्री पुनले आयोजना छनौटको लागी छलफल चलिरहेको बताउनुभयो ।

नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ । यसबारे नेपाल विद्युत प्राधिकरणले नेपालतर्फको सम्भाव्यता अध्ययन पनि पूरा गरेको छ ।

कमेन्ट गर्नुहोस्