दूतावास र एनआरएनएको संयुक्त आयोजनामा नेपाली कामदारका चूनौति र अवसर विषयक गोष्ठी

दोहा, जेठ ६ । नेपाली राजदूतावास कतार र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद कतारको संयुक्त आयोजनामा आप्रवासी नेपाली कामदारका चूनौती, अवसर र एनआरएनएको भूमिका विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा “प्रत्येक्ष र करारमार्फत कामदार आपूर्तिको तुलनात्मक अध्ययनः सेवा, सुविधा, समस्या र समाधानका उपायहरु” र “रोजगारदाताबाट इजाजतवाला कम्पनीलाई प्रदान गरिने सेवा शुल्क भुक्तानीः विद्यमान अवस्था, समस्या र समाधानका उपायहरु” जस्ता विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए।

कार्यपत्रमा कतारस्थित रोजगारदाता कम्पनीहरुबाट नेपाली कामदारहरुको माग, छनौट प्रक्रिया, प्रदान गरिने तलब सुविधाजस्ता विषयबस्तुहरु समेटिएका थिए ।

गोष्ठीलाई सम्बोधन गर्दै कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालाले आपसी समन्वय, अपनत्व, सहकार्यले रचनात्मकता र उत्पादकतामा बृद्दि हुन जाने विश्वासका साथ नेपाली राजदूतावास र एनआरएनए कतारको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

साथै, कुनै पनि राम्रो कार्यको थालनी गर्न नेपाली राजदूतावास कतार सदैब तयार रहेको कुरा समेत उहाँले जानकारी गराउनु भयो ।

गोष्ठीमा एनआरएनएएन सीसी कतारको सुरक्षित आप्रवासन तथा श्रमिक कल्याणकारी समिति संयोजक सुदर्शन भट्टले अबधारणा पत्रबारे जानकारी गराउनु भएको थियो ।

टिप्पणीकारमा हंसराज ढकाल, शकर न्योपाने, चानक पोखरेल, देब परियार, रकमध्वज राई, हुसेन खान, प्रेम रसाईली र सुरेश भट्टले गर्नु भएको थियो ।

त्यस्तै विमल सुबेदी, बिनोद भट्टराई, विनेश तामाङ र मायाँ के सीले सहजीकरण गरेको कार्यक्रममा पत्रकार करिम बक्स मियाँ र बुद्दिजिबी दीपक भेटवालले समीक्षात्मक टीप्पणी गर्नु भएको थियो ।

नेपाली दुतावास कतारको सभा हलमा भएको कार्यक्रममा कोइराला, नियोग उपप्रमुख मणिरत्न शर्मा, काउन्सेलर (श्रम) शिवराम पोखरेल, राजदूतावासका कर्मचारीहरु, गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष तथा प्रतिनिधीहरु, वैचारिक, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार र श्रमिकहरुको उपस्थिति रहेको थियो ।

राजदूत कोइरालाले सभापतित्व गरेको कार्यक्रममा दूतावासका कर्मचारी गायत्री पौडेल र एनआरएनएका महासचिव बुधबल गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्