काठमाडौँ-तराई फस्ट ट्रयाकको रेखांकनमा हेरफेर, दूरी छोटिने, खोकनाको साटो फर्सिडोल हुने भयो जिरो किलोमिटर

 

हेटौंडा — नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराई द्रुतमार्गमा फेरबदल हुने भएको छ ।  निर्माणसंग असन्तुष्ट स्थानीयहरूका माग सम्बोधन गर्ने क्रममा सेनाले ललितपुरको खोकना क्षेत्रमा ‘अलाइनमेन्ट’ फेरबदल गर्ने भएको हो ।

एक सैनिक अधिकृतलाई उद्धृत गर्दै कान्तिपुरमा प्रकाशित समाचार अनुसार यसअघि खोकनालाई जिरो किलोमिटर राखिएकामा अब फर्सिडोल जिरो किलोमिटर हुने भएको छ  । ‘त्यस क्षेत्रमा सामान्य ‘अलाइनमेन्ट’ परिवर्तन गरी स्थानीयको माग सम्बोधन गरिएको छ,’ उनले भने, ‘अब बुङ्मतीको फर्सिडोल जिरो किलोमिटर हुनेछ ।’ यद्यपि उक्त निर्णय मन्त्रिपरिषद्बाट पारित हुन बाँकी छ ।

स्थानीयले खेतीयोग्य जमिन मासिने भन्दै फास्ट ट्रयाकको रेखांकन र मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका थिए । विवादकै कारण त्यस क्षेत्रमा रुख कटान कसरी अघि बढाउने भन्नेमा अन्योल थियो । अलाइनमेन्ट परिवर्तन गरिँदा दूरी केही किलोमिटर छोटिनेछ ।

यसैबीच सेनाले फास्ट ट्रयाकमा पर्ने रुख कटान अन्तिम चरणमा पुर्‍याएको छ । झन्डै ९७ हजार रुख काटिसकेको सेनाले अब सानाठूला १७ हजार रुख मात्र काट्न बाँकी छ ।

कटान गरिएका रुख सम्बन्धित सामुदायिक वनलाई नै हस्तान्तरण गरिएका छन् । ‘फास्ट ट्रयाकमा पर्ने करिब ८५/८६ प्रतिशत रुख कटान गरिसकिएको छ,’ सहायक आयोजना प्रमुख एवम् सहायक रथी भरतबहादुर खडकाले भने, ‘अब एक साताभित्रमा बाँकी रुख कटान भइसक्छन् ।’ करिब १ लाख १४ हजार रुख काट्ने योजना थियो । सरकारले निर्माण जिम्मा दिएसँगै सेनाले निजगढबाट मंसिर २७ गते रुख काट्न सुरु गरेको थियो । ‘सेनाले कटानसँगै राम्रोसँग घाटगद्दी गरेकाले कुनै समस्या आएन,’ जिल्ला वन कार्यालयका प्रमुख प्रल्हाद धितालले भने । सबैभन्दा बढी रुख मकवानपुर खण्डमै काटिएका छन् ।

रुख कटान गर्न झन्डै ५ सय सैनिक खटिएका छन् । रुख कटानसँगै फास्ट ट्रयाक ‘फिलिङ’ र चौडा बनाउन काम पनि अघि बढिरहेको छ । सेनाले सक्ने काम आफैंले र नसक्ने काम ठेकेदारमार्फत गराइरहेको छ । यसका लागि दुई दर्जन निर्माण कम्पनी खटिएका छन् । ‘२३ वटा निर्माण कम्पनीले डोजर, एक्साभेटर लगाएर फिलिङ र जमिन कटान गरिरहेका छन,’ सहायक आयोजना प्रमुख खडाले भने, ‘काम तीव्र गतिमा छ ।’

अहिले निर्माणस्थलमा सयभन्दा बढी डोजर र लोडर देखिन्छन् । निजगढ, राजदमार, लेनडाँडा, महादेवटार, सिस्नेरी, डुकुछापलगायत ८ स्थानमा फिलिङ र चौडा गर्ने काम भइरहेको सहायक आयोजना प्रमुख खडाले बताए । सेनाले १० स्थानमा शिविर राखेर काम गरिरहेको छ । सिस्नेरीको दोभान, भक्कुवेसी, लेनडाडा, बुदुने, वागदेव, खोकना, ठिंगन, राजदमार, निजगढ र अधेरीमा शिविर राखिएका छन् । हरेक शिविरमा एक सय हाराहारी सैनिक छन् । प्रत्येक शिविरलाई ७/८ किलोमिटर हेर्ने गरी जिम्मा दिइएको छ ।

समथर क्षेत्रमा २५ मिटर (पिच हुने भाग) र उच्च पहाडी क्षेत्रमा २३ मिटर चौडा रहने फास्टट्र×याक चार लेनको हुनेछ । कुल चौडाइ भने सय मिटर हुनेछ । फास्ट ट्रयाकअन्तर्गत काठमाडौंमा ४ दशमलव ९, ललितपुरमा ७ दशमलब ९, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलब ६ गरी कुल ७६ दशमलब २ किलोमिटर पर्छ । सेनाले ४ वर्षभित्र काम सक्नुपर्नेछ । अहिले क्रसर प्लान्ट र अलकत्रा प्लान्टका लागि आवश्यक विद्युत् विस्तारको कामसमेत भइरहेको छ ।

कान्तिपुरका लागि प्रताप बिष्टले लेखेको समाचारमा आयोजना सम्पन्न भएपछि मुलुकको आर्थिक, सामाजिक र व्यापार वृद्धिका साथै वार्षिक १० अर्बको इन्धन बचत हुनेछ । काठमाडौं–निजगढ आवागमन करिब एक घण्टामा आउजाउ गर्न सकिने बताइएको छ । २०६७ मा ९४ करोड लागतमा २२ मिटर चौडाइको ट्रयाक पनि सेनाले ३ वर्ष लगाएर खोलेको थियो । सरकारले लामो विवादपछि फास्टट्रयाक निर्माण सेनालाई जिम्मा दिएको हो । सेनाले ६ दशकयता सानाठूला गरी २८ वटा सडक बनाइसकेको छ ।

कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्