सन्दीपले ट्वीट गर्दै दिल्ली डेयर डेभिल्सलाई यस्ताे भने…

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रीमियर लीग (आइपीएल) को जारी सिजनमा उत्कृष्ट खेल प्रदर्शन गर्दै टुंग्याएका छन् । आइपीएलमा दिल्ली डेयरडेभिल्स्मा आवद्ध १७ वर्ष लेग स्पिनर सन्दीपले विश्वका चर्चित क्रिकेटलाई चकित पार्ने गरी चमत्कारपूर्ण बलिङ गरे ।

टीमको शुरुवातीका ११ वटा खेलमा बेञ्चमा बसेर विताएका सन्दीपले १२ औं खेलमा डेब्यु गर्ने मौका पाए । सन्दीपले खेलेका तीनैवटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए । मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन्।

सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित भए। दोस्रो खेलमा सन्दीप आनुवन्धन भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल भएको थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो ।

उक्त खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए । यसवापत उनलाई स्टाइलिस प्लेयर अफ द म्याच घोषित गरियो र पुरस्कार स्वरूप उनलार्इ एक लाख भारु दिइयो ।

आइतबार सन्दीप यो सिजनको अन्तिम खेल मुम्बई इन्डियन्स विरुद्ध खेलेका थिए । सो खेलमा उनले चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए । सन्दीप पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए ।

सन्दीपको टीम दिल्ली लीग चरणबाट बाहिरिएको छ । लीग चरणमा खेलेका १४ मध्ये ५ वटामा जित र ९ वटामा हार व्योहोरेको दिल्ली प्लेअफमा पुग्न सकेन ।

अन्तिम खेल खेलिसकेपछि नेपाली युवा स्पीनर सन्दीपले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आफूलाई विश्वास गरेकोमा र अवसर दिएको दिल्ली डेयर डेभिल्सलाई धन्यवाद दिएका छन्। सन्दीपले सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटर मार्फत डेयर डेभिल्सलाई धन्यवाद दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आईपिएलमा मलाई विश्वास गरेकामा र अवसर दिएकामा दिल्ली डेयर डेभिल्सलाई हार्दिक धन्यवाद दिन चाहन्छु। नयाँ कुरा सिक्न पाउनु र एक्सपोजर पाउनु अभूतपूर्व अनुभव रह्यो। यस यात्रामा मेरो साथमा रहनु हुने र यसलाई सम्भव बनाउने हुने सबैलाई धन्यवाद।’

सन्दीपलाई आइपीएल टिम दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा आक्सनबाट अनुबन्घन गरेको थियो ।

सन्दीपले आगामी ३१ मेमा क्रिकेटको मक्का लर्डसमा आइसीसी ११ बाट टी–२० च्याम्पियन वेष्टइन्डिजदिरुद्ध खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्