काठमाडौं, जेष्ठ ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ ।
विमानस्थलको व्यवस्थापन र उडान सुरक्षित बनाउन सोमबारदेखि २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घण्टा विमानस्थल सञ्चाल हुँदै आएकोमा आजदेखि ३ घण्टा थप गरिएको हो । अब बिहान ६ बजेदखि राति बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन हुनेछ ।
हाल ६६ जना एयर ट्राफिक कन्ट्रोलर रहेकोमा ८ जना थपिएको र बाँकी केही समयपछि थपिने विमानस्थलले जनाएको छ । तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने व्यवस्था गरिएको प्रवक्ता ठाकुरले बताए ।
उडान तथा अवतरणको समय ३ घण्टा थप भएसँगै एयर ट्राफिक जाम कम हुने विमानस्थलको दाबी छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गत चैत्र १६ गते सार्वजनिक गरेको सय दिने कार्ययोजनामा एयर ट्राफिक जाम कम गर्न भन्दै जेठ ७ गतेबाट दैनिक २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याउने उल्लेख थियो ।