एक हजार विद्यार्थी, एउटा शौचालय, यस्तो छ सास्ती

महोत्तरी, जेठ ७ । विद्यार्थीको सङ्ख्या एक हजार र तिनका लागि एउटा मात्र शौचालय ! यो कथा हो महोत्तरीको लोहारपट्टी नगरपालिका-१ अन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडाको जहाँ १७ शिक्षक र कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने ९९८ विद्यार्थीका लागि एक मात्र शौचालय रहेको छ ।

विद्यार्थीको अत्यधिक छाप रहेको उक्त विद्यालयको एक मात्र शौचालय पनि दुई दशक पुरानो हो । त्यस यता त्यहाँ शौचालय निर्माण हुन सकेको छैन ।

विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर यादवका अनुसार एउटै शौचालय भएका कारण विद्यार्थी र शिक्षकले पालो कुर्नु परिरहेको हुन्छ । यादव भन्छन्, “शौचालयका लागि पटक पटक जिल्ला शिक्षा कार्यालयलाई लिखित अनुरोध गर्दैआएका छौं ।”

यादवका अनुसार एउटा मात्र शौचालय भएकाले  “विद्यार्थी र शिक्षकलाई निकै समस्या हुने गरेको छ ।”

एकमात्र शौचालयको अवस्था पनि दुरुस्त भने छैन। यसको ढोका फुटिसकेको छ र पर्खाल जीर्ण छ ।  कक्षा १० मा अध्ययनरत छात्रा विभाकुमारी यादव भन्छिन्, “ढोका फुटेको छ र यसमा चुकुल समेत छैन।” उक्त शौचालयमा छात्राहरू महिनावारी भएका बेला तथा सामान्य दिसापिसाब गर्न जाँदा समेत समस्या हुने गरेको विभाकुमारी बताउँछिन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिकाका बगडा, महदैया, मधेपुरा, अन्हारवन, सुखैनिया, पररिया, तपनपुर, जगतियालगायत ठाउँका विद्यार्थी पढ्न आउने गरेको यस विद्यालयमा खानेपानीको समेत अभाव रहेको छ ।

रासस

कमेन्ट गर्नुहोस्