आइपीएल खेलेर सन्दीप आज आउँदैं

काठमाडौं, जेठ ७ । इन्डियन प्रिमियर लीग (आइपीएल) को ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्सबाट तीन खेल खेल्दै आफ्नो बलिङको चमत्कार देखाएर वाहावाही पाएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउँदै छन् ।

सन्दीप आज अपरान्ह ४.१५ बजे जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका व्यवस्थापक रमण सिवाकोटीले जानकारी दिए ।

आइपीएलका लागि अक्सनबाट सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । दिल्लीका लागि लीग चरणका अन्तिम तीन खेल खेलेका सन्दीपले १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए ।

सन्दीपले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका चर्चित ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गरे ।

रोयल च्यालेन्जर्स बेंग्लोरका विरुद्ध गरेको बलिङलाई आइपीएलले स्टाइलिस बलिङको अवार्डसहित एक लाख भारतीय रुपैयाँ पुरस्कारसमेत दियो ।

आइपीएलको लीग चरणका १४ मध्ये ५ मा जित र ९ खेलमा हार व्यहोरेको दिल्ली लिग चरणबाट बाहिरिएको छ । सन्दीपले खेलका अन्तिम तीन खेल मध्ये २ खेल दिल्लीले जितेको थियो ।

यसपछि ३१ मे मा आइसीसी विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेल खेल्नका लागि इङ्ल्याण्ड प्रस्थान गर्नेछन् ।

कमेन्ट गर्नुहोस्