३३ किलो सुनकाण्डका नाइके गोरे काठमाडौंमा सार्वजनिक, आजै मोरङ लैजाने तयारी

काडमाडौं, जेठ ८ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन तस्करीको प्रकरणका प्रमुख भनिएका चुडामणि उप्रेती ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेको छ ।

गृहमन्त्रालयमा मंगलबार दिउसो पत्रकार सम्मेलन गरी ३३ किलो सुनकाण्डको नाइके गोरेलार्इ सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिदै सरकारबाट सो सम्बन्धमा छानविन गर्न गठित समितिका प्रमुख सहसचिव ईश्वर पौडेलले गोरेलाई काठमाडौको गौरीघाट नजिकबाट मंगलबार विहान करीब ५.३४ बजे पक्राउ गरिएको बताए ।

गोरेसँगको लिइएकाे प्रारम्भिक बयान अनुसार घटनाबारे थुप्रै थप प्रमाण आफूहरुलाई प्राप्त भएको तर संगठित अपराध भएकाले जटिल रहेको पौडेले बताए । संगठित अपराध जेरी जस्तै जेलिएकाले त्यसलाई सेलरोटी जस्तै प्रत्येकलाई अलग–अलग छुट्ट्याएर अगाडि बढ्नु पर्ने बताए ।

यो अनुसन्धानको अत्यन्तै जटिल र अदालत प्रवेश गरिसकेकाले विषय भएकाले सबैकुरा सार्वजनिक गर्न नमिल्ने उनले बताए । गोरे काठमाडौ आएको सूचनाका आधारमा वितेका तीन दिनदेखिको अथक प्रयासबाट उनलाई मंगलबार उनकै निवास नजिकबाट पक्राउ गर्न आफूहरु सफल भएको पौडेलले बताए ।

मोरङ अदालतमा उनीलगायत ६३ जनालाई प्रतिवादी बनाएर यसअघि ने मुद्दा दर्ता भइसकेकाले सम्भव भएसम्म छिटो गरी गोरेलाई मोरङ लगिने पनि पोडेलले बताए । यद्यपी गोरे फरार हुँदै आएका थिए ।

बैशाख १८ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएकामध्ये २९ जना भने पक्राउ परिसकेका थिए । हाल उनीहरुको मुद्दाबारे अदालतमा बहस जारी छ ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्रसहित मुद्दा दर्ता गरेको थियो ।

गत माघ ७ गते दुवईबाट तस्करहरुले ल्याएको ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौँबाट हराएको थियो ।

हराएको सो सुन बेपत्ता पारेको भनेर तस्कर समूहमाथि मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरेको आरोप छ । घटनापछि गोरे फरार थिए । उनी पक्राउ परेसँगै हराएको भनिएको सुनबारे पनि थप खुल्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्