सन्दीपलाई स्वागत गर्न विमानस्थलमा खेलप्रेमीको ठूलो भीड

नेपाली क्रिकेट सन्दीप लामिछाने क्रिकेटको महाकुम्भ इन्डियन प्रीमियर लीग खेलर मंगलबार अपरान्ह काठमाडौं आइपुगेका छन् ।

उनी अपरान्ह ४.१५ बजे जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

स्वागतका लागि खेल पदाधिकारी तथा खेलप्रेमीहरुको विमानस्थल बाहिर बाक्लो उपस्थिति रहेको थियो । विमानस्थलमा नेपालको झण्डा लिएर समर्थकहरु उपस्थित भएका थिए ।

सन्दीपलाई स्वागत गर्न नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासमेत विमानस्थल पुगेका थिए ।

विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सन्दीपले आइपीएलबाट आफूले धेरै कुरा सिकेको बताए । उनले आउँदा दिनहरुमा आईपीएलमा नेपालका अन्य खेलाडीले पनि खेल्ने सम्भावना रहेको बताए ।

आइपीएलका लागि अक्सनबाट सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । दिल्लीका लागि लीग चरणका अन्तिम तीन खेल खेलेका सन्दीपले १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए ।

सन्दीपले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका चर्चित ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गरे ।

रोयल च्यालेन्जर्स बेंग्लोरका विरुद्ध गरेको बलिङलाई आइपीएलले स्टाइलिस बलिङको अवार्डसहित एक लाख भारतीय रुपैयाँ पुरस्कारसमेत दियो ।

आइपीएलको लीग चरणका १४ मध्ये ५ मा जित र ९ खेलमा हार व्यहोरेको दिल्ली लिग चरणबाट बाहिरिएको छ । सन्दीपले खेलका अन्तिम तीन खेल मध्ये २ खेल दिल्लीले जितेको थियो ।

यसपछि ३१ मे मा आइसीसी विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेल खेल्नका लागि इङ्ल्याण्ड प्रस्थान गर्नेछन् ।

कमेन्ट गर्नुहोस्