वाइसिएलसँग एकता गरी युवा सशक्तीकरणमा लाग्ने : युवासंघ

काठमाडौं, जेठ ८ । तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले अब योङ कम्युनिष्ट लीग (वाइसीएल) सँग एकता गरी युवा सशक्तीकरणमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताएको छ ।

मंगलबार राजधानीमा युवा संघ नेपालको नवनिर्वाचित तथा पुनः गठित कमिटीलाई शपथग्रहण गराउनका लागि आयोजित कार्यक्रममा युवासंघका नेताहरुले यस्तो बताएका हुन ।

नेकपाका केन्द्रीय सदस्यहरु महेश बस्नेत, दिलु पन्त र निरज आचार्यले गठबन्धनको एकता जनताको चाहना र समयको माग भएको बताउँदै यसले मुलुकलाई स्थायित्व र प्रगतिका लागि अवसर प्रदान गरेको बताए ।

उहाँहरुले उक्त संगठनले अब वाइसिएलसँग एकता गरी युवा सशक्तीकरणका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा बसेको संघको बैठकले एकता अगाडि संगठनअन्तर्गतका कुनै पनि कमिटी गठन तथा पुनः गठन नगरिने निर्णय गरेको महासचिव नरेश शाहीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्