थप उपचारका लागि राष्ट्रकवि घिमिरे भारत जाने

काठमाडौं, जेठ ९ ।  ग्राण्डी अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लगिने भएको छ । आज बेलुकी ५ बजे थप उपचारका लागि घिमिरेलाई भारतको मेदान्त अस्पताल लैजाने तयारी भएको उनकी बुहारी विजेता घिमिरेले जानकारी दिइन् ।

घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि डाक्टरको सल्लाहमा उनलाई थप उपचारका लागि भारत लैजान लागिएको बताइएको छ । गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए ।

उनको उपचारमा संलग्न डाक्टर विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको बताए । उनका अनुसार सानो आन्द्रा परीक्षण गर्ने इन्टेरोस्कोपी उपकरण अस्पतालमा छैन ।

घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लैजाने र घर फर्काउने क्रम चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्