४२ देशका वाम युवाको महासभा काठमाडौंमा शुरु हुँदै, सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

काठमाडौं,जेठ ९ । विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा बुधबार देखि काठमाडौंमा हुने भएको छ । प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो।

यसअघि क्युवामा बैठक बसेको थियो । तीन दिनसम्म चल्ने महासभामा विश्वमा रहेका युवाको शिक्षा र रोजगारका समस्याबारे वहस गरी समाधानको उपायबारे छलफल हुने युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले जानकारी दिए।

युवा संघ नेपाल र अनेरास्ववियूको आतिथ्य तथा संगठनको आयोजनामा हुने सो महासभामा विश्वमा कम्युनिष्ट आन्दोलनको समीक्षा तथा प्रचारप्रसार गरी अबको कम्युनिष्ट आन्दोलनको बारेमा साझा धारणा निर्माण गर्ने र विश्व साम्राज्यवादविरुद्ध रणनीतिक योजना बनाइने उनले बताए।

महासभाको उद्घाटन राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् भने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।

महासभामा विभिन्न देशबाट प्रतिनिधित्व गरेकाले कम्युनिष्ट आन्दोलन र युवाका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन्। नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कम्युनिष्ट आन्दोलनको विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

महासभामा साइप्रस, नामिविया, भियतनाम, लाओस, उत्तर कोरिया, क्युवा, स्पेन, पोर्चुगल, रसियालगायत ४२ देशका ७२ युवासहित २०० सयको सहभागिता हुनेछ।

विश्वमा रहेका कम्युनिष्ट र प्रजातान्त्रिक देशका युवा तथा विद्यार्थीको छाता संगठनको रुपमा रहेको यो संगठनमा विश्वका युवा र विद्यार्थीका २५० संगठन आबद्ध छन्।

नेपालबाट युवा संघ नेपाल र अनेरास्ववियू उक्त संगठनका सदस्य छन्।

कमेन्ट गर्नुहोस्