उत्तर कोरियासँग हुने भनिएको वार्ता स्थगित हुनसक्ने- ट्रंप

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंप र उनका उत्तर कोरियाली समकक्षी किम जोङ-उनबीच १२ जुनमा सिङ्गापुरमा हुने भनिएको ऐतिहासिक भेटवार्तामा अनिश्चित हुने सभावना बढेर गएको छ ।

अमेरिकी राष्ट्रपति ट्रंपले किमको दोस्रो चीन भ्रमणपछि उनी ‘बाउँठिएको’ आरोप लगाएका छन् ।

व्हाइट हाउसमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनसँगको भेटमा उनले उक्त शिखर सम्मेलनका लागि उत्तरले सर्तहरू पूरा गर्नु पर्ने र त्यसो नभएको खण्डमा यो भेटवार्ता ‘पछि’ हुने बताएका छन् ।

अहिले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इन अमेरिकाको विशेष भ्रमणमा छन् ।

उत्तरले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रूपमा उसका परमाणु कार्यक्रम त्याग्न जिद्दी गरिरहेकाले उक्त भेटवार्ता रद्द हुनसक्ने जनाएको छ ।

ट्रंपले ती सर्तहरू कस्ता हुन् भन्ने बारे त केही भनेनन् तर उत्तर कोरियाली परमाणविक भट्टीहरूबारे एक पत्रकारको जिज्ञासाको उत्तर दिँदै उनले भने, “परमाणु संयन्त्रहरू बन्द नै हुनु पर्छ ।”

उत्तर कोरियाले आफूले परमाणु भट्टीहरू नष्ट गर्न लागेको निरीक्षण गर्न दक्षिणका पत्रकारहरूलाई अनुमति दिएको थियो ।

उसले पछिल्लो पटक भिसा पाउन नसकेका पत्रकारहरूलाई अन्तर्राष्ट्रिय मिडियासँगै देशको प्रमुख परमाणु प्रशोधन भण्डार पुंगे-री पुग्ने व्यवस्था गर्ने जनाएको छ । उसले उक्त क्षेत्रलाई नष्ट गर्ने तर यसकाममा खराब मौसमले बाधा पुऱ्याएको जनाएको छ ।

अमेरिकी विदेश सचिव माइक पोम्पेओले भने आफूहरूले अझै १२ जुनको लागी तयारी गरिरहेको बताएका छन् ।  उनले चीनमाथि उत्तर कोरियामाथी ऐतिहासिक दवाब सिर्जना गरेको आरोप लगाएका छन् ।

 

बीबीसी

 

कमेन्ट गर्नुहोस्