Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अान्तरिक तथा बाह्य पर्यटकका लागि होमस्टे सञ्चालन

स्याङजा । नेपालको गाउँ पर्यटनको इतिहासमा पहिलो घरबास (होमस्टे)  गाउँका रुपमा ख्याती कमाएको सिरुबारी घरबास पर्यटन अध्ययनको पाठशालाका रुपमा विकास हुँदै गएको छ ।

स्याङ्जाको आँधिखोला गाउँपालिका– १ को चिटिक्क मिलेको बस्तीलाई घरबास पर्यटनका अभियन्ता पूर्व सांसद स्व क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा २०५४ सालमा होमस्टे गाउँका रुपमा सञ्चालनमा ल्याइएको हो ।

समुद्री सतहबाट एक हजार ६१० मिटर उचाइमा रहेको सिरुबारीमा रहेको गुरुङ समुदायमा रहेका ३९ घरमध्ये हाल १७ घरमा घरबास सञ्चालन गरिएको छ । स्थानीय समाजसेवी एवं पर्यटन विकास समिति सिरुबारीका सदस्य संयोजक जुमबहादुर गुरुङका अनुसार गाउँमा जनशक्ति कम भएका अवस्थामा पनि गाउँको पहिचानलाई कायमै राख्न स्थानीयवासी सक्रिय रुपमा घरबासलाई अझै व्यवस्थित गदै निरन्तरता दिएका छन् ।

“यहाँका स्थानीयवासीले गुरुङ जीवनशैलीको जीवन्त चित्रणका साथै स्थानीय संस्कृतिका माध्यमबाट पर्यटकलाई न्यानो आतिथ्यता प्रदान गर्ने गरेका छन्,” गुरुङले भन्नुभयो, “सरसफाइलाई उच्च प्राथमिकता दिने स्थानीयवासीको सक्रियता, वरपरका सुन्दर दृश्यका साथै गाउँको सिरानबाट देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छे« लगायतका हिमालको सुन्दर दृश्य नै यहाँको मुख्य पर्यटकीय आकर्षण हो ।”

गाउँको सिरानबाट देखिने सूर्योदयका साथै सूर्यास्तका मनमोहक दृश्य नम्रता एवं शिष्टतापूर्ण गाउँलेपनले जो कोही पर्यटकलाई सिरुबारीमा आकर्षित गर्ने गरेको छ । नेपालमा घरबास पर्यटनको शुरुवात सिरुबारीबाट भएका कारण यसको आफ्नै विशिष्ट महत्व रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलिया बताउनुहुन्छ ।

“सिरुबारीमा घरबास कार्यक्रम शुरु भएयता देशभर घरबास सञ्चालन गर्ने लहर नै चलेको छ,” उहाँले भन्नुभयो, “पछिल्लो समयमा प्रदेश नं ४ भित्र मात्रै एक सयको हाराहारीमा घरबास सञ्चालन भएका छन् ।”

घरबास कार्यक्रमलाई प्रभावकारी बनाउन बोर्डले घरबास सञ्चालन भएका गाउँमा पर्यटन तथा व्यवस्थापन तालीम प्रदान गर्दै आएकोमा सिरुबारीमा पनि उक्त तालीम सञ्चालन गरिएको थपलियाले जानकारी दिनुभयो । पहिलो पटक घरबास पर्यटनको शुरुवात गरिएको गाउँ भएका कारण घरबास सञ्चालनमा आएका धेरै गाउँले यहाँ आएर घरबास पर्यटनका विविध पक्षबारे जानकारी लिने गरेको अर्की स्थानीयवासी उर्मिला गुरुङ बताउनुहुन्छ ।

“नेपालमा होमस्टे सुविधासहित गाउँ पर्यटनको अवधारणालाई पूर्व सांसद क्याप्टेन गुरुङको विशेष पहलमा व्यवहारमा लागू गराउने प्रयास गरिएको हो,” उहाँले भन्नुभयो, “सिरुबारीमा घरबास पर्यटन शुरु भएपछि नै देशभर यसतर्फ जागरण बढेको हो, पछिल्लो समयमा सिरुबारीमा घरबास पर्यटन सिक्नकै लागि देशका विभिन्न ठाउँबाट होमस्टे सञ्चालक आउने गरेका छन् ।”

स्थानीयवासीका अनुसार स्व गुरुङले २०२५ सालमै सिरुबारीलाई पर्यटन गाउँ बनाउने सपना देख्नुभएको थियो भने २०४८ सालदेखि पूर्वाधार विकासमा जोड दिनुभएको थियो । गाउँलेको आत्मिय व्यवहार, सरसफाइ एवं स्थानीय प्राङ्गारिक परिकारको स्वाद तथा संस्कृतिको अवलोकन नै घरबासको मुख्य आकर्षण रहेको सिरुबारीमा विभिन्न समूह समूहमा देशका विभिन्न स्थानबाट सिक्न आउने क्रम बढेसँगै होमस्टे पाठशालाका रुपमा स्थापित भइसकेको गुरुङले बताउनुभयो ।

ढुङ्गै ढुङ्गाले छापिएका सफा एवं सुन्दर बाटो, परम्परागत शैलीमा निर्माण गरिएका घरमा सञ्चालित घरबासको अनुभव लिन जाने जो कोही पर्यटकलाई गाउँको प्रवेशद्वारमा शुरुमा नै गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयवासीको स्वागतले मन फुरुङ्ग पार्छ ।

बाँजागाजाका साथ फूलमाला पहि¥याएर स्थानीय आमा समूह, युवा क्लब तथा पर्यटन समितिका पदाधिकारी तथा सदस्यले गाउँमा आउने पाहुनालाई गुम्बाको दर्शन गराइ जलपान गराउँछन् । जलपान पश्चात पर्यटकका लागि विभिन्न घर तोकिन्छ । तोकिएका घरमा पर्यटकलाई त्यही खाने बस्ने व्यवस्था गरिन्छ ।

साँझ ८०० बजे पर्यटकलाई सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन गराइन्छ भने भोलिपल्ट बिहान चिया नास्ता खुवाएर ८०० बजे फूलमालासहित बिदाई गरिनु यहाँको मौलिक पहिचान हो । पर्यटकले गाउँको सिरानमा रहेको पञ्चमूल सिरुवारी भ्यु टावरबाट सिरुवारीसहित आसपासका गाउँको एक साथ दृश्यावलोकन गर्दछन् । स्थानीय लामा गुरु यामबहादुर गुरुङ९लामा साइँलो०का अनुसार गाउँमा रहेको विसं १९९१ मा निर्मित बुद्ध गोम्पा९गुम्बा०मा जो कोही पर्यटक आएर दर्शन गर्ने गर्दछन् ।

यसअघि २०५२ सालमा जीर्णोद्धार गरिएको गुम्बा २०७२ सालको भूकम्पका कारण केही क्षति भएपछि हाल पुनः जीर्णोद्वार भइरहेको उहाँले जानकारी दिनुभयो । सिरुबारीको घरबास कार्यक्रमबाट अन्य घरबास सञ्चालन गर्ने गाउँले पनि धेरै सिक्न सक्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रशासन तथा कार्यक्रम अधिकृत प्रदीप गैरे बताउनुहुन्छ ।

“सिरुबारीको आतिथ्यता, रहनसहन, शिष्टता आदिबाट अन्य घरबास सञ्चालित एवं सञ्चालनको तयारी गरेका गाउँले सिक्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “पछिल्लो समयमा सिरुबारी घरबास अध्ययन अनुसन्धानको पाठशालाका रुपमा अघि बढेको छ ।” रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: