भारतमा निपाह भाइरसको आतंक, ११ को मृत्यु, ४ वटा प्रदेशमा ‘हाइ अलर्ट’ जारी

नयाँ दिल्ली । भारतमा निपाहा भाइरस आतंक बन्न पुगेको छ ।

यो संक्रमबाट केरला राज्यमा मात्रै ११ जनाको मृत्यु भइसकेको छ । केरलाका ४ वटा जिल्लामा यसको मुख्य संक्रमण देखिएपनि भारतका चारवटा प्रदेशले समेत हाइ अलर्ट घोषणा गरेका छन् ।

हिमाञ्चल प्रदेशमा समेत केही नमुना परीक्षणका लागि पठाइएको छ ।

गोवा, राजस्थान, तेलङ्गना र जम्मु–कश्मिर राज्यमा भने उच्च सतर्कता अपनाउने निर्देशन दिइएको छ ।

यो संक्रमण सामान्यतया चमेराहरूले फैलाउने गरेको भएपनि हाल यो मान्छेबाट मान्छेमा सर्न थालेकाले यसको जोखिम झन् बढेको चिकित्सकहरू बताउँछन् ।

समान हावापानी भएको र अन्तर्राष्ट्रिय आवागमन भइराख्ने नेपालमा पनि यसबारे बेलैमा सचेत भैराख्नु आवश्यक छ । जानौं यसबारे केही कुरा:

के हो निपाह भाइरस?

यो तीव्र गतिमा विकास भइराखेको भाइरस हो। यस भाइरसको वाहकको रूपमा ‘फ्रुट ब्याट’ भनिने चमेरो रहेको छ।

यसको बारेमा सबैभन्दा पहिले १९९८ मा मलेसियाको कम्पङ सुङ्गाइ निपाह नामक स्थानमा पत्ता लागेको थियो । उक्त समय यो संक्रमणको बाहक बंगुर रहेको तथ्य फेला परेको थियो ।

२००४ मा बंगलादेशमा पनि केही मानिसहरूमा यसको संक्रमण देखा परेको थियो । उक्त समय यो मानिसबाट मानिसमा सर्ने गरेको तथ्य पत्ता लागेको थियो ।

सेंटर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार यसले इन्सेफ्लाइटिस गराउँछ र मष्तिष्कमा हानी पुऱ्याउँछ ।

के छन् यस संक्रमणका लक्षण?

यस भाइरसको सम्पर्कमा आएको ५ देखि १४ दिनभित्र संक्रमितमा अत्यधिक ज्वरो र कडा टाउको दुःखाइको लक्षण देखा पर्न सक्छ ।

दुःखाइकै कारण रोगी २४ देखि ४८ घण्टाभित्र कोमामा पुग्न सक्छ । सक्रमणको आरम्भिक अवस्थामा सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ ।

आधा जसो रोगीहरूमा स्नायु सम्बन्धी समस्याहरू समेत देखा पर्न सक्छन् ।

मष्तिष्क भित्र सुन्निने लक्षण देखा पर्न सक्छ । जसका कारण अत्यधिक ज्वरो आउने र टाउको दुःख्ने हुन्छ ।

मंश्पेशीहरू दुख्ने गर्दछन् ।

कसरी बच्ने ?

फलहरूमा ‘फ्रुट ब्याट’का कारण भाइरस सरेको हुन सक्ने भएकाले नखाने ।

निपाह भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहने ।

यस भाइरसको संक्रमणका कारण मृत्यु भएकाहरूको शव नजिक नजाने ।

यदि अत्यधिक ज्वरो आउने र टाउको दुःख्ने लक्षण देखा परे तुरुन्त डाक्टर कहाँ जाने ।

कमेन्ट गर्नुहोस्