पहिरोले विद्युतगृह बगाएपछि वर्षदिनदेखि अन्धकारमा

सांकेतिक तस्विर

म्याग्दी, जेठ १० । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एक वर्षदेखि अन्धकारमय बनेको छ ।

२०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो ।

विद्युत्को अभावमा गाउँको जनजीवन प्रभावित भएको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो ।

उहाँले अधिकांश दलितको बसोबास रहेको लुलाङमा गरिबीका कारण सोलार र मैनबत्तीसमेत किन्न नसक्दा बालबालिकाले साँझपख पढ्नबाट वञ्चित हुँदा शैक्षिक गतिविधि प्रभावित भएको दुुखेसो गर्नुभयो ।

परियोजनाको अधिकांश संरचना पहिरोले क्षति पु¥याएपछि गाउँपालिकाले विनियोजन गरेको रु २३ लाख बजेटले परियोजना पुनःनिर्माण सम्भव नभएपछि अलपत्र परेको उहाँले जानकारी दिनुभयो ।

तीनसय २५ घरधुरीले प्रयोग गर्ने परियोजनालाई नयाँ ठाउँमा सञ्चालन गर्न सर्वेसहितको प्राविधिक काम सकिएको गाउँलेले बताएका छन् ।

परियोजना बन्द भएपछि केही गाउँलेले ऋण लिएरसमेत सोलार जडान गरेका छन् । उहाँले बत्तीका साथै गाउँमा खानेपानीको समेत चरम संकट रहेको बताउँदै गाउँ नजिक रहेका मुहानलाई मर्मतसहित नयाँ पाइप विस्तार गर्न नसक्दा गाउँमा खानेपानीको पनि हाहाकार भएको बताउनुभयो ।

मोबाइलसहित अन्य उपकरण चार्ज गर्न स्थानीयले छिमेकी मुनामा पुग्नुपर्ने बाध्यता रहेको छ । स्थानीयले सञ्चार, विद्युत्, खानेपानी समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले जनताको समस्यालाई नजिकबाट हेरेको बताउँदै समस्याको समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

लघुजलविद्युत्, खानेपानी, शिक्षा र सञ्चारको समस्या समाधानका लागि स्थानीय सरकारको बजेटबाट मात्रै अपुग भएकाले थप बजेटका लागि माग गरिएको उहाले बताउनुभयो ।

जिल्लाकै अति विकट मानिने गुर्जा तथा छिमेकी जिल्ला बागलुङ जाने स्थानीयलाई लक्षित गरी गाउँमा होमस्टे सञ्चालन गरेपनि खानेपानी र विद्युत्को अभावले समस्या भइरहेको छ । विद्युत्बाट चल्ने विभिन्न किसिमका उपकरणमा आधारित साना उद्योगसमेत बन्द भएका छन् ।

कमेन्ट गर्नुहोस्