प्रधानमन्त्रीद्वारा शैक्षिक मेलाको उद्घाटन

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा पाँचौं ‘कान्तिपुर हिसान एडुफेयर-२०१८ (कान्तिपुर हिसान शैक्षिक मेला) को उद्घाटन गर्नु भएको छ । एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई थप अध्ययनका निम्ति परामर्श दिने उद्देश्यसहित बिहीबार सुरु भएको छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले विगत पाँच वर्षदेखि मेलाको आयोजना गर्दै आएका छन् ।

चारदिनसम्म चल्ने उक्त  शैक्षिक मेला काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुँदैछ । कार्यक्रमको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीका साथै शिक्षामन्त्री गिरिराजमणि पोखरेल, हिसानका अध्यक्षलगायतले सम्बोधन गरेका छन् ।

मेलामा शिक्षाविज्ञसहित युवाहरूबीच ‘संघीयतामा शिक्षा’ लगायत विषयमा अन्तक्र्रिया हुनेछ । मेलामा चर्चित क्रिकेटर सन्दीप लामिछाने पनि सहभागी हुने भनिएको छ ।

मेलामा विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्मको पठनपाठन तथा भौतिक पूर्वाधारबारे जानकारी दिइने छ । मुलुकको समृद्धिका निम्ति प्राविधिक शिक्षालाई विशेष जोड दिइएको स्थितिमा त्यसका सम्बन्धित संस्था र कार्यक्रमबारे पनि अवगत गराइने छ ।

मेलामा स्वेदशका विभिन्न १ सय ५० भन्दा बढी शैक्षिक संस्थाहरूको स्टल रहेका छन् ।

हाल देशमा ११ विश्वविद्यालय छन् र तीन वटा मानित विश्वविद्यालय रहेका छन्  । विश्वविद्यालयले अन्य संस्थानहरूलाई सम्बन्धन दिने तर मानित(डिम्ड) विश्वविद्यालयले अन्य संस्थानलाई सम्बन्धन दिने गरेका छैनन् । देशमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मानित विश्वविद्यालयको रूपमा रहेका छन् ।

नेपालबाट बर्सेनी ३० हजार विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेसिने गरेको तथ्यांक रहेको छ यसका अतिरिक्त कयौं विद्यार्थीहरू बिना कुनै औपचारिक स्वीकृति भारतीय संस्थाहरूमा पढ्न जाने गरेका छन्  ।

हाल स्वदेशमै विदेशी शैक्षिक संस्थाकै पाठ्यक्रम, भौतिक सुविधा र गुणस्तरमा शिक्षा पाउने अवसर पनि बढेको छ । मेलामा जेठो त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका विभिन्न क्याम्पसले आफ्ना कार्यक्रम प्रवर्धन गर्नेछन् ।

मेलामा हरेक विश्वविद्यालयले आफ्ना नयाँ कार्यक्रमबारे अभिभावक र विद्यार्थीलाई जानकारी गराउने छन् । उक्त मेलामा पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लगायत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लगायत शैक्षिक निकायका कार्यक्रमबारे समेत जानकारी लिन सकिने छ ।

कमेन्ट गर्नुहोस्