नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी, एक वर्षमै ३५ प्रतिशत सम्पत्ती थपियो

काठमाडौ, जेठ ११ ।
नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी ब्यक्ति बनेका छन् । गतबर्ष १ सय १ औं स्थानमा रहेका घले यसबर्ष ठूलो फड्को मार्दै ८१ औं स्थान माथि उक्लन्दै यस सूचिमा आइपुगेका हुन् ।

अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिजनेस रिभ्यु विक्लीले हिजो सार्वजनिक गरेको यसबर्षको सूचिमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित सो स्थानमा परेका हुन् ।

घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो । एक वर्षमै उनीहरुको सम्पत्ति झण्डै ३५ प्रतिशतले बढेको छ ।

अष्ट्रेलियाको मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापकसमेत रहेका घलेको शिक्षा तथा रियल स्टेटलगायतका उद्योगमा लगानी छ ।

सन् १९९० को दशकको सुरुतिर अध्ययनका लागि अष्ट्रेलियाका पुगेका घलेले एकाउन्टिङ तथा प्राविधिक विषय पढाइ हुने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरे ।

अहिले एमआइटीमा झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । घले उक्त इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर हुन् भने गुरुङले बिजनेस र मार्केटिङ विभाग सम्हाल्दै आएकी छिन् ।

घलेले झण्डै चार वर्षसम्म गैरआवासीय नेपाली संघको नेतृत्व सम्हालेका थिए । गैरआवासीय नेपाली संघका पहिलोपटक निर्वाचनमार्फत् नेतृत्वमा पुगेका उनले संस्थाको उचाइ र विश्वसनियता बढाउन निकै मेहेनत गरेका थिए ।

०७२ को महाभूकम्पपछि उनीहरुले राहत वितरण र वस्ती निर्माणको जोखिमपूर्ण कामको नेतृत्व गरेका थिए ।

घले दम्पत्तिले काठमाडौंमा शेराटन ब्राण्डमा पाँचतारे डिलक्स होटल सञ्चालन गर्दैछन् । यो होटलको अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।

कमेन्ट गर्नुहोस्