कर्णाली प्रिमियर लिगः हिलाम्य मैदानका कारण खेल शुरु हुन ढिलाई

सुर्खेत जेठ ११ । मैदान हिलाम्य भएपछि सुर्खेतको वीरेन्द्रनगरमा भैरहेको रुस्लान कर्णाली प्रिमियर लिग (केपिएल) अन्तर्गत सेमिफाइनलको पहिलो खेल शुरु हुन ढिलाइ भएको छ । बिहान ८ बजेदेखि हुने भनिएको खेल विहीबार राति परेकोे पानीका कारण खेल शुरु हुन ढिलाइ भएको हो ।

आज सेमिफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेल समुह ‘ए’ को विजेता रुपन्देही–११ र समूह ‘बी’ को उपविजेता मध्यपश्चिम क्रिकेट क्लबबीच हुँदैछ ।

यस्तै, सेमिफाइनलमा समूह ‘बी’को विजेता धनगढी क्रिकेट क्लब र समूह ‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लबबीच बिहान साढे ११ बजे हुने आयोजकले जनाएको छ ।

जेठ ३ गतेबाट सुरु भएको कर्णाली प्रिमियर लिगको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्