इन्धनका मूल्य स्थिर राख्ने आयल निगमको तयारी

काठमाडौं, जेठ ११ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य एक्कासि बढे पनि नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य त्यही अनुपातमा नबढ्ने नेपाल आयल निगमका अधिकारीले बताएका छन्।

१५–१५ दिनमा अन्तर्राष्ट्रिय बजार अनुसारको मूल्य समायोजन गर्ने गरिएको भएपनि एकै पटक धेरै बढेमा ुस्थिरीकरण कोषुमा जम्मा भएको रकम प्रयोग गरेर थोरै मात्रै मूल्य बढाइने निगमका अधिकारीहरुको भनाइ छ।

केही महिनाअघिसम्म नाफामा रहेको निगम हाल न नाफा न घाटाको अवस्थामा रहेको बताइएको छ।

अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट आफू अलग्गिएको र ऊविरुद्ध थप प्रतिबन्ध लगाउने घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ।

त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।

पछिल्ला केही महिनामा नेपाल आयल निगमले पटक पटक २ देखि ३ रुपैयाँको दरले मूल्य बढाएको छ।

अन्तर्राष्ट्रिय बजारमा अझै मूल्य बढने आकलन गरिरहेको बेला आयल निगमले भने नेपालमा एकै पटक धेरै मूल्य नबढाउने जनाएको छ।

आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले भने, ‘एक्कासि धेरै मूल्य बढेर आइदियो र ५ प्रतिशत बिक्रि मूल्यले थेग्ने स्थिति रहेन भने थोरै रकम बिक्रि मूल्यमा बढाउने र बाँकी कोषको रकमबाट समायोजन गर्छौँ। तर हालसम्म उक्त कोषबाट रकम चलाउनु परेको छैन।’

मूल्य बढेको बेलाको भार धान्नका लागि बनाइएको मूल्य स्थिरीकरण कोषमा हाल ३ अर्ब ४० करोड रुपैयाँ रहेको निगमले जनाएको छ।

२०७० सालमा १ सय ४० रुपैयाँ प्रति लिटर सम्म पुगेको पेट्रोलको मूल्य केही वर्षपछि ८० रुपैयाँसम्म झरेको थियो।

त्यो फेरी बढेर अहिले १ सय १० रुपैयाँसम्म पुगेको छ।

हाल ५ प्रकारका पेट्रोलियम पदार्थ बिक्रिवितरण गर्ने निगम घाटा नाफाका हिसाबले बराबर रहेको निमित्त नायब कार्यकारी निर्देशक साहको भनाइ छ।

उनले भने, ‘पेट्रोलमा प्रतिलिटर ७२ पैसा नाफामा छौँ, डिजेल प्रतिलिटर २ रुपैयाँ २९ पैसा घाटामा कारोबार भइरहेको छ। मट्टितेलमा हामी प्रतिलिटर १९ रुपैयाँ नाफामा छौँ।’

उनले भने, ‘हवाई इन्धनमा १० रुपैयाँ प्रतिलिटर नाफा छ तर एलपी ग्याँस प्रति सिलिन्डर ६४ रुपैयाँ २९ पैसा घाटा छ। समग्रमा अहिले निगमको नाफा नोक्सान शून्य छ।’

विगतमा मूल्य समायोजन नगर्दा ३७ अर्ब रुपैयाँसम्म ऋणमा डुबेको निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढसँगै स्वचालित रूपमा यहाँपनि मूल्य हेरफेर हुने प्रणाली अपनाएपछि धेरै नोक्सानी भोग्नु नपरेको बताएको छ। बीबीसी

कमेन्ट गर्नुहोस्