३३ किलो सुनकाण्डः सनम शाक्य हत्यामा आफ्नो संलग्नता नरहेको गोरेको दाबी

विराटनगर, जेष्ठ ११ । ३३ किलो सुन तस्करीका मुख्य आरोपित गोरे भनिने चूडामणि उप्रेतीसँगको बयान जारी छ ।

गएको मंगलवार राजधानीको गौराीघाटबाट पक्राउ परेका गोरेसँग जिल्ला अदालत मोरङले बुधवारदेखि नै वयान लिन थालेको हो । सुन तस्करी र सनम शाक्य हत्या सम्बन्धमा सुक्ष्म रुपमा बुझ्नु पर्ने भएकाले उनीसँगको बयान केही दिन लम्बिने अदालत स्रोतले जनाएको छ । गोरेको जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा तीन दिनदेखि बयान जारी छ ।

पहिलो दिन ६ पृष्ठ लामो वयान लिएको अदालतले दोस्रो (बिहीबार) हिजो १० पृष्ठको बयान रेकर्ड गरेको थियो । सुन तस्करी र सनम शाक्य हत्याबारे थप सोधपुछ आवश्यक रहेको भन्दै अदालतले उच्च सुरक्षाकाबीच तेस्रो दिन (शुक्रबार) पनि वयान लिने छ ।

वयानका क्रममा गोरेले शाक्य हत्यामा आफ्नो संलग्नता नभएको दावी गर्दै आएका छन् । यद्यपि उनले सुन हराएको सम्बन्धमा भने सनमसहित केहीलाई कुटपिट गरेको स्वीकारेका थिए ।बयानका क्रममा आफूहरुको काममा अरु केहीले समेत सहयोग गरेको उनले बताए पनि नाम भने सार्वजनिक गरिएको छैन ।

प्रहरीको दुई महिना लामो अनुसन्धानपछि गत वैशाख १९ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित ६३ जनाविरुद्ध आपराधिक समूह स्थापना गरी सुनको चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दायर गरेको थियो ।

सो प्रकरणमा पक्राउ परेका एसएसपीसहित ३० मध्ये २८ जना पुर्पक्षका लागि थुनामा छन् भने थप २ जना साधारण तारेख र धरौटीमा छुटेका छन् ।

कमेन्ट गर्नुहोस्