एमाले सांसदले गोरेसँग २ लाख चन्दा लिएको खुलासा

विराटनगर, जेठ ११ ।  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अारापी चूडामणि उप्रेती ‘गोरे’ सँग ‘कनेक्सन’ रहेको पाइएपछि पक्राउ परेका रेवन्तकुमार आचार्यले चन्दा लेनदेनबारे नयाँ तथ्य बाहिर ल्याएका छन् ।

उर्लाबारी नगरपालिका-२ निवासी रेवत भनिने नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासमेत रहेका सुन व्यापारी आचार्यले गोरे र नेताहरुबीचको ‘कनेक्सन’ को खुलासा गरेका हुन् ।

बिहीबार साँझ पक्राउ परेपछि शुक्रबार जिल्ला अदालत मोरङमा म्याद मिलानका लागि पुर्याइएका उनकै उपस्थितिमा गोरेले २ लाख रुपैयाँ चन्दा नेकपाका एकजना वर्तमान सांसदलाई दिएको जिकिर गरेका हुन् ।

‘हामीसँगै रहेका बेला ‘गोरे’ले मंसिरको निर्वाचनमा तत्कालीन एमालेका नेता घनश्याम खतिवडा (वर्तमान प्रतिनिधि सभाका सदस्य) लाई २ लाख रुपैयाँ चन्दा दिएका हुन्’, आचार्यले भने, ‘त्यो बेला हाल नेकपाबाट प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडालाई दुई लाख रुपैयाँ चुनावी खर्च मेरै उपस्थितिमा गोरेले दिएका थिए ।’

गोरेलाई म चिन्दिनँः घनश्याम

एमाले कार्यकर्ताबाटै गम्भीर आरोप लागेपछि प्रतिनिधि सभा सदस्य खतिवडाले भने यस कुराको कडा प्रतिवाद गरेका छन् । खतिवडाले यस्तो वाहिया कुराबारे समाचार बनाउनुको कुनै तुक नभएको पनि प्रष्टिकरण दिए ।

‘यस्तो कुरा सबै वाहियात हो, गोरे को हो ? म चिन्दै चिन्दिनँ, चिन्दै नचिनी कसरी पैसा दिन्छ ?’, खतिवडाले प्रश्न गरे, ‘मेरो इमानमाथि प्रश्नचिन्ह खडा गर्ने गरी उठाइएको यो कुरा विलकुल वाहियात हो ।’अन्नपूर्ण पोष्टबाट

कमेन्ट गर्नुहोस्