एकै व्यक्तिद्वारा छ जनाको अभिभावकत्व

पर्वत, जेठ १२ । जिल्लाको एक विकट गाउँकी महिलाले एकै दिन छ विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

महाशिला गाउँपालिका–५ पाखापानीकी कल्पना गुरुङले विपन्न बालबालिकालाई विद्यालय भर्ना गराउनुभयो।

लामो समयसम्म वैदेशिक रोजगारीका लागि विदेशमा बसेर नेपाल फर्कनुभएकी गुरुङले आफूले पढेको स्थानीय जनविकास माविलाई रु ३० हजारसमेत एक कार्यक्रममा प्रदान गर्नुभयो ।

उहाँले छ बालबालिकालाई अहिले अध्ययनरत तहदेखि कक्षा १२ सम्म पढाउने गरी विद्यालयसँग सम्झौतामा हस्ताक्षर पनि गर्नुभयो ।

बालशिक्षाका मीरा सुनार र एलिसा गुरुङ, कक्षा ४ का हरिकला क्षेत्री र भोलाकुमारी नेपाली तथा कक्षा ५ का धनबहादुर क्षत्री र कक्षा ८ का रामबहादुर क्षेत्री छनोट गरिएको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर क्षत्रीले जानकारी दिनुभयो ।

ती बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ ।

महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने औँल्याउनुभयो ।

हाल काठमाडौँ निवासी गुरुङले विद्यालयमा भएको सुधारले आफू हर्षित भएको बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्