यसका कारण विद्यालय छोड्दै छन् घरेलु कामदार

सञ्चिता घिमिरे, ललितपुर । सानेपास्थित टीका विद्याश्रम माविमा एक शैक्षिक सत्रमा केही वर्षयता झण्डै ६० जनासम्म विद्यार्थीले एक शैक्षिक सत्रमा विद्यालय छाड्ने गरेका छन् ।

शैक्षिक सत्रको शुरुमा भर्ना भएका विद्यार्थीमध्ये काठमाडौँ उपत्यका बाहिर घर हुनेहरु घर गएर नफर्कदाबीचमा विद्यालय छाड्नेको संख्या बढेको छ ।

तीन वर्ष पहिले भने झण्डै बीचमा विद्यालय छाड्ने विद्यार्थीको संख्या ९० जनासम्म पुगेको थियो ।

वैशाखमा भर्ना भएका जम्मा विद्यार्थीमध्ये चैतसम्ममा ५० देखि ६० जनासम्म कम हुने गरेको विद्यालयकी शिक्षिका मुना शर्माले बताउनुभयो ।

काठमाडौँ उपत्यकाका नगर क्षेत्रका अरु विद्यालयमा जस्तै सो विद्यालयमा स्थानीय विद्यार्थी छैनन् । ्

आसपासका क्षेत्रमा अरुका घरमा काम गर्ने घरेलु कामदार बालबालिका सबैभन्दा बढी छन् ।

सो विद्यालयबाट बाहिर निस्केका विद्यार्थी आफ्नो गाउँका विद्यालयमा गएर पढ्छन् वा पढ्दैनन् भन्ने जानकारी विद्यालयसँग हुँदैन ।

विद्यालयले एक–दुई पटकसम्म विद्यार्थी किन नआएको भन्ने खोजी गर्छ । बालबालिकालाई काममा राख्ने घरधनीलाई पनि घर गएको बाहेक अरु जानकारी नहुने अर्की शिक्षिका राज्यलक्ष्मी अर्यालले बताइन् ।

अधिकांश घरेलु कामदार बालबालिका साथीभाइको लहैलहैमा काठमाडौँ आएका हुन्छन् । दशैँम घर जान पाएपछि कतिपय बालबालिका फर्किएर नआउने गरेको उहाले बताउनुभयो ।

काम गर्न बसेको घरमा नराम्रो व्यवहार हुँदा अधिकांश बालबालिका फर्किएर विद्यालय नआएका हुन् ।

कतिपय सुकुम्बासी बस्तीका वा मजदूरी गरेर जीविकोपार्जन गर्नेका सन्तान सो विद्यालयमा अध्ययनरत रहेको शिक्षिका अर्यालको भनाई छ ।
अभिभावकले आसपासका क्षेत्रमा काम गर्दा विद्यालयमा भर्ना भएका बालबालिका अभिभावकले अन्यत्र काम पाउँदा अन्तै सर्छन् । कतिपयले भने डेरा जता स¥यो उतै पढ्ने गर्छन् ।

विद्यालयका माथिल्ला कक्षाभन्दा तल्ला कक्षाबीचमा पढाइ छाड्ने बढी पाइएको शिक्षिका शर्माले जानकारी दिइन् ।

सबैभन्दा बढी कक्षा ५ सम्मका विद्यार्थीबीचमा विद्यालय छाड्छन् ।

विद्यालयका माथिल्ला कक्षामा पुगेपछि भने काम गरेको घरमा नराम्रो व्यवहार हुँदा पनि पढ्छु भनेरै बस्ने विद्यार्थी धेरै छन् ।

बीचमा विद्यालय छाड्नेमा छात्राभन्दा छात्रको संख्या बढी छ । केटाहरु विद्यालय छाडेर कोही घर फर्कन्छन् ।

उमेर अलि भएका भारतलगायत देशमा रोजगारीका लागि जाने शिक्षिका अर्यालले बताउनुभयो ।

अरु सामुदायिक विद्यालय जसरी यो विद्यालय पनि आर्थिक रुपमा विपन्नका विद्यार्थी पढ्ने विद्यालय बनेको छ ।

अभिभावकलाई चासो कम हुने विद्यार्थी छन् । घरेलु कामदार विद्यार्थीका घरधनी बालबालिकाको पढाइको अवस्थाका बारेमा बुझ्न आउँदैनन् ।

यहाँ अध्ययनरत घरेलु कामदार विद्यार्थीमध्ये कतिपय यी वर्षमा बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाले लगेका छन् ।

विद्यालयमा आएर विद्यार्थीलाई हिंसा नसहन र हिंसा हुँदा फोन गर्न संस्थाले नम्बर दिएको शिक्षिका अर्याल बताउनुहुन्छ ।

विद्यार्थी टिकाउनका लागि विद्यालयले संस्थाको सहयोगमा खाजा, शैक्षिक सामग्रीलगायत कुरा निःशुल्क शुरु गरेको छ । विद्यालयमा अहिले झण्डै ३०० विद्यार्थी अध्ययनरत छन् । रासस

कमेन्ट गर्नुहोस्