कर्णाली प्रीमियर लीगको उपाधि आर्मीलाई

सुर्खेत, जेठ १२ । रुस्लान कर्णाली प्रिमियर लिग टी–२० (केपीएल) को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शनिबार वीरेन्द्रनगरमा सम्पन्न उपाधि भिड्न्तमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही ११ लाई ३७ रनले पराजित गर्दै आर्मीले केपीएलको पहिलो संस्करणको उपाधि हात पार्न सफल भएको हो ।

उपाधीसँगै विजेता आर्मीले नगद तीन लाख र ट्रफी प्राप्त गरेको छ भने उपविजेता रुपन्देहीले नगद एक लाख ५० हजारसहित ट्रफी पाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रन जोडेको थियो ।

उसका लागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगदान दिए । बलिङतर्फ रुपन्देहीका विकास श्रेष्ठले ३ तथा बसिर अहमद, विक्रम भुषाल र सन्दीप सुनारले समान एक विकेट लिए ।

१३३ रनको लक्ष्य पछ्याएको रुपन्देही भने १७ ओभर ५ बलमा अलआउट हुँदै ९५ रनमै समेटियो ।

रुपन्देहीका लागि निश्चल चौधरीले २६, सन्दीप सुनारले २४, कप्तान शक्ति गौचनले १७ र सौरभ खनालले १६ रनको योगदान दिए पनि जितका लागि पर्याप्त बन्न सकेन ।

बन्धु विकास सहकारी संस्थाले आयोजना गरेको केपीएलमा १० वटा टोली सहभागी थिए ।

कमेन्ट गर्नुहोस्