स्थानीयको २२ लाख चन्दा संकलनले बन्यो जैविक तटबन्ध, तीन सय बढी परिवारको सुरक्षा

कञ्चनपुर, जेठ १३ । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बासिन्दालाई वर्षा शुरु हुनुअगावै सुरक्षित ठाउँमा बस्नका लागि जाने क्रम शुरु भइसक्यो ।

दोदा नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा, बालबालिका, अन्न र लत्ताकपडा बोकेर सुरक्षित क्षेत्रमा जानुपर्ने बाध्यता थियो ।

“नदीमा आउने बाढीले जग्गा भूक्षय गरी बगाउने र डुबानमा पार्ने भएकाले यहाँका बासिन्दाले बस्ती छाड्नुपर्ने हुन्थ्यो”, स्थानीयवासी पृथु रानाले भन्नुभयो, “विगतको जस्तो नदीले जग्गा बगाउने चिन्ता छैन ।”

नदीमा जैविक तटबन्ध निर्माण गरिएपछि जग्गा बगाउने समस्याबाट छुट्कारा पाइएको उहाँले बताउनुभयो ।

यहाँका स्थानीय बासिन्दाले रु २२ लाख चन्दा संकलन गरी स्वस्फूर्त रुपमा डेढ किलोमिटर लामो जैविक तटबन्ध निर्माण गरेका छन् ।

“नदीले गर्दै आएको भूक्षय रोक्नका लागि एक महिना लगाएर तीन सयभन्दा बढी स्थानीयवासीले बाँसको जैविक तटबन्ध निर्माण गरेका छौँ”, रानाले भन्नुभयो, “खाली रहेको जग्गामा घाँस रोपिएको छ ।”

नदीमा जैविक तटबन्ध निर्माण गरिएपछि यस क्षेत्रमा बसोबास गर्ने तीन सय परिवारको सुुरक्षा भएको छ ।

“तटबन्ध निर्माण गरिदिनका लागि स्थानीय तहदेखि केन्द्रसम्म पुग्यौँ तर कसैले हाम्रो आवाज सुनेन, सुनेकाले आश्वासन दिए योजना लागू गरेनन्”, श्रीकृष्ण रानाले भन्नुभयो, “स्वस्फूर्त रुपमा संगठित भएर जैविक तटबन्ध निर्माण गरिएपछि बाढीका बेला ढुक्कसँग बस्न सकिने भएको छ ।

बर्सातमा पानी दर्किन शुरु भएपछि बालबालिका बोकेर सुरक्षित क्षेत्रमा भाग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “जैविक तटबन्धले त्यो समस्या हटाएको छ ।”

जनप्रतिनिधिले समेत साथ दिन थालेकाले नदी नियन्त्रणमा सहयोग पुगेको स्थानीय बासिन्दाको भनाइ छ । रासस

कमेन्ट गर्नुहोस्