दलितको हातको पानी खाँदा गाउँ निकाला !

बाजुरा, जेठ १३ । बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले गाउ छाडेका छन् ।

दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो दम्पतीले गाउँ नै छोडेका हुन् । बुढा दम्पती बर्षौदेखि सोही गाउमै बस्दै आएका थिए ।

दलित समुदायका व्यक्तिको हातकोबाट पानी खाएको भन्दै स्थानीयले हरेक सामाजिक क्रियाकलापमा अलग्याएर गाउँमा बस्न नदिएको पिडीत जयलाल बुढाले गुनासो गर्नुभयो ।

पूरानो कुप्रथालाई अन्त्यका लागि दलितको हातको पानी खाँदा आफ्नो परिवार नै गाउँबाट लखेटिएको उहाँले गुनासो गर्नुभयो ।

साथैं, दलितसँग सम्बन्ध राखेको भन्दै गाउँलेले कुटपिट गरी सामाजिक रुपमा अलग्याएको पिडीत दम्पतीको गुनासो छ ।

गाउँलेबाट लेखेटिएपछि बुढा दम्पती जंगलको नजिकै एक सानो छाप्रो बनाएर बस्दै आएका छन् ।

आफूहरुलाई आफ्ना छोराले भेटेमा समेत उनीहरुलाई गाउँलेले कुटपिट गर्ने गरेको बुढाले बताउनुभयो ।

गाउँमा गएका थाह पाएमा गाउँलेले धम्की दिँदै गाउँमा नआऊ भन्दै लखेट्ने गरेका उहाले गुनासो गर्नुभयो ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले दम्पतीका परिवारलाई दुःख दिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अहिलेको युगमा पनि कुसंस्कार गर्ने जो कोहीलाई छुट नभएकाले यसका बारेमा यथार्थ बुझेर कारबाही गर्ने मल्लको भनाइ छ ।

गाउँपालिका अध्यक्ष मल्लले सोही वडाका वडा सदस्य वाचलाल बुढालाई गाउँमै यो समस्या मिलाएर दम्पतीलाई स–सम्मान गाउँको सामाजिक कार्यमा समावेश गर्न आग्रह गर्नुभएको छ । रासस

कमेन्ट गर्नुहोस्