चक्रपथमा मोनोरेल सञ्चालन अध्ययन गर्ने जिम्मा चीनलार्इ

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालनको विषयले औपचारिकता पाएको छ । चक्रपथमा मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन गर्ने जिम्मा चाइना रेलवे २५औं ब्युरो ग्रूपलाई सम्भाव्यता अध्ययन गर्न जिम्मा दिइएपछि यसले औपचारिकता पाएको हो ।

शुक्रवार काठमाडौंमा महानगरपालिकाले कार्यक्रम आयोजना गरी चक्रपथमा मोनोरेल सञ्चालन गर्न सम्भाव्यताका लागि प्रक्रिया अघि बढाएको हो । मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनका लागि महानगरका प्रमुख विद्यासुन्दर शाक्य र सो कम्पनीका महाप्रबन्धक ली होङ्छीले अध्ययनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि मोनोरेल महत्त्वपूर्ण मानिएको छ ।

मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनका लागि काठमाडौं महानगरपालिकाले गत वैशाखमा आशयपत्र मागेको थियो । सोहीअनुसार शुक्रवार उक्त कम्पनीसँग अध्ययनका लागि सम्झौता गरिएको महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । सम्झौताअनुसार कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदनमा चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिकलगायत विषयमा सिफारिश गर्ने कार्यक्रममा बताइएको छ ।

२७ किलोमिटरको चक्रपथमा सञ्चालन हुने मोनोरेलको धेरै भाग काठमाडौंमा पर्छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मोनोरेलको करीब १० किलोमिटर जति ललितपुरमा पर्ने बताए । उनले यस क्षेत्रमा काम गर्न आवश्यक वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौं महानगरका मेयर शाक्यले आफ्नै पालामा मोनोेरेल सञ्चालन गर्ने दाबी गरे ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कम्पनीका महाप्रबन्धक लीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले सम्झौता अनुसार पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गरिने बताए । आर्थिक अभियानबाट

कमेन्ट गर्नुहोस्